संविधानको रक्षा गरी जनतालाई मालिक बनाउनुपर्छः प्रदेश प्रमुख घर्ती

रुपन्देही । २०८१ मङ्सिर २६ गते

लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले शहीदको रगतले लेखिएको संविधानको रक्षा गर्दै जनतालाई मालिक र राज्यको सेवा सुविधा लिएकाहरूले सेवकको भावनामा काम गर्न नसक्दासम्म मानव अधिकारको प्रत्याभूति नहुने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक, शान्तिका लागि साझा अभियान कोक्याप, मानव अधिकार तथा शान्ति समाज, सिर्जनशिल समाज नेपाल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, एडभोकेशी फोरम रुपन्देही, गैरसरकारी संस्था महासङ्घ रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान, साहसी कदम नेपाल, सेतो गुराँस बालविकास सेवा, महिला अधिकारको लागि एकल महिला, एक्लोलाई सहारा दिने वृक्ष लगायतका २७ ओटा सङ्घ संस्थाहरुको संयूक्त आयोजनामा मङ्सिर २४ गते बुटवलमा भएको ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार रक्षक दिवशको अवसरमा बृह्त शान्ति र्यालीको समापन आयोजित अन्तर संवाद कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो ।

प्रदेश प्रमुखले लामो समयदेखि जनताको वलिदानबाट सदियौँदेखि शासन गरेका पञ्चे र पञ्चयती शासन व्यवस्था फालेर प्राप्त भएका गणतन्त्रात्मक शासन व्यवस्थालाई जनताले अनुभूति गर्ने गरी काम गर्न नसक्दा मानव अधिकार संरक्षण र प्रवर्द्धन हुन नसकेको भन्दै मानव अधिकारवादीहरूले विभाजित हुँदै गएको विषयमा चिन्ता व्यक्त गर्दे मानव अधिकारको नाममा शहरवादी, डलरवादी, वेइमानी र विवाद रहित नहुन आग्रह गर्नुभयो । संचार क्षेत्र सबैभन्दा पक्षपाती र वेइमानी भएको आफूले भोग्दै आएको बताउँदै मानव अधिकारकर्मीहरूले सधैँ महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत समुदायहरूका आवाजलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहा नपाका नगरप्रमुख खेलराज पाण्डेले मानव अधिकारको संरक्षण, प्रवर्द्धनका लागि संवेदनशिल रूपमा अगाडि बढेको बताउनु भयो । नगरप्रमुख पाण्डेले बुटवल नगरवासीको आधारभूत आवश्यकताको पहिचान गरी लक्षित वर्गमैत्री नीति, योजना, कार्यक्रमहरूलाई जसको सवाल उसको नेतृत्वको रूपमा स्थापित गर्न लागि परेको र मानव अधिकारकर्मीहरूले बुटवल उपमहानगरपालिकाले मानव अधिकारको क्षेत्रमा भएका कमी कमजोरीहरू औँल्याएर पालिकालाई सुझाव दिए यहाँहरूको सुझाव अनुसार अगाडि बढने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले सबै जनताले मानव अधिकारको प्रत्याभूत गर्ने विषय भएको भन्दै संविधानमा भएको मौलिक हकका विषयहरू कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । प्रमुख ज्ञवालीले लुम्बिनी प्रदेशमा जातिय छुवाछुत र बालविवाहको समस्या बढ्दो रहेकोले आगामी दिनमा समन्वय र सहकार्य गरी ती सवालहरूमा पनि सक्रिय सहकार्य गरी सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताउनु भयो ।

        

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले हरेक नागरिकले मानव अधिकारको उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने दायित्व राज्यको भएकोले यसका विषयमा संवेदनशिल भई गरिबी बेरोजगारी श्रृजना गरेर नागरिकलाई देश छोडेर बाहिर जानुपर्ने बाध्यता बनाउनु पनि मानव अधिकारको उल्लङ्घन भएको भन्दै राज्यले मानव अधिकार रक्षकको प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले मानव अधिकारको विषयमा संवेदनशिल भएर प्राइभेट क्षेत्रले सामाजिक न्यायमा आर्थिक क्षेत्रलाई सँगसँगै लैजान सके सामाजिक न्याय स्थापित हुने बताउनुभयो । मानवअधिकारको सवालमा खस्केको मनोवललाई बढाउने रोजगारी र क्षमता बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता अधिकारहरू गुणस्तर, मुल्य र परिणाममा ठगिएको बताउँदै यस्ता विषयमा सबै उपभोक्ताहरूलाई सचेत गराउने कार्यक्रमहरू र राज्यलाई जवाफदेही बनाउने अभियानहरू अगाडि बढाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता हेमा न्यौपानेले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले सो विषयमा राज्य हरेक निकायहरू संवेदनशिल हुनुपर्ने र नागरिकहरूले पनि कर्तब्य पालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले मानव अधिकार र संचारलाई कसरी मैत्रीपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा पनि अबको बहस चलाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य डिवी खनालले बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग विषयमा अवधारणा पत्र प्रस्तुतत गर्नुभएको थियो भने राष्टिय अपाङ्ग महिला सङ्घका जिल्ला अध्यक्ष कल्पना ढकालले मानव अधिकारको विषयमा आधारपत्र प्रस्तुत गर्नुगएको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता राष्टिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको स्वागत तथा इन्सेक प्रतिनिधिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रभावफेरी र्‍याली

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक, शान्तिका लागि साझा अभियान कोक्याप, मानवअधिकार तथा शान्ति समाज, सिर्जनशिल समाज नेपाल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, एडभोकेशी फोरम रुपन्देही, गैरसरकारी संस्था महासङ्घ रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान, साहसी कदम नेपाल, सेतो गुराँस बालविकास सेवा, महिला अधिकारको लागि एकल महिला, एक्लोलाई सहारा दिने वृक्ष लगायतका २७ ओटा संघ संस्थाहरुको संयूक्त आयोजनामा मङ्सिर २४ गते बुटवलमा भएको ७६ औँ अन्तराष्ट्रिय मानवअधिकार रक्षक दिवशको अवसरमा बृह्त शान्ति र्यालीको आयोजना गरिएको थियो । रयाली बुटवलको राजमार्ग चौराहाबाट व्याण्ड बाजा र विभिन्न प्लेकार्ड सहित मिलनचोक नयाँ बसपार्क, भुडकी चोक हुँदै होटल मेरी गोल्डमा गई अन्तरसंवाद कार्यक्रममा परिणत भएको थियो ।

 रीमा बिसी