सडक नाटक प्रदर्शन

दैलेख । २०८१ वैशाख ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिका–९ पादुकास्थित प्रेमदेवी माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहले वैशाख २८ गते वातावरण प्रदूषणले पारेकाे असर विषयमा सडक नाटक प्रदर्शन गरेको छ । अन्न बाली र तरकारी खेतीमा प्रयोग भइरहेको रासायनिक मलको प्रयोग, जथाभावी फोहोर फ्याक्ने, प्लाष्टिक जलाउने, वनमा आगजनी गर्ने लगायतका मानव सिर्जित क्रियाकलापले वातावरणमा प्रदूषण बढेको नाटकमा सन्देश दिइएको थियो ।

   

विद्यालय र समुदायमा समेत प्रदर्शन गरिएको सडक नाटकले  प्रभावकारी भूमिका खेलेकाे भन्दै प्रेमदेवी माध्यमिक विद्यालय निमित्त प्रधानाध्यापक आनन्द दाहालले बाल अधिकार समूहको रचनात्मक कामको प्रशंसा गर्नुभयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत नाटक प्रदर्शन गरिएको जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।

अमर सुनार