सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
सुनसरी । २०७९ साउन ६ गते
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित बनाउने अभियानलाई सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी संरक्षक रहेको समितिको संयोजकमा गैर सरकारी संस्था महासङ्घका सुनसरी अध्यक्ष मेघराज न्यौपाने रहनु भएको छ । प्रमुख जिल्ला अधिकारी यादवले अभियानमा आफू संरक्षक रहेको र गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेको संयोजकत्वमा जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको बताउनु भएको छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सामाजिक सङ्घसंस्था लगायतले अभियानमा हातेमालो गरी सडक मानवरहित बनाउन अभियान शुरू भएको माया घरकी सुवद्रा प्याकुरेलले बताउनु भएको छ ।
जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्यका सडक मानवरहित अभियानको थालनी सरकारले नै गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । समितिका संयोजक मेघराज न्यौपानेले “आउँदो वर्षभित्र जिल्लालाई सडक मानवरहित बनाउने लक्ष्यसहित अभियानको थालनी गरिएको छ । बेसहारा भएर सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापना अभियानमार्फत गरिने छ । जिल्लाका सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिका देखिएकाले उनीहरूको न्यूनतम मानव अधिकार रक्षाका लागि सडक मानवरहित अभियानको थालनी गरिएको छ ।
जयकृष्ण यादव