सन् २०२२ मा प्रदेश १, मा मानव अधिकारका घटनामा ९ सय ७० जना पीडित
मोरङ । २०७९ फागुन ८ गते
सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएको इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । फागुन ८ गते विराटनगरमा आयोजित सन् २०२२ मा प्रदेश १ को मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रम तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रममा प्रदेश १ मा ९ सय ७० जना पीडित भएको इन्सेकले जनाएको छ । सन् २०२२ मा प्रदेश १ मा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूबारे प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्य अधिकारीले मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानव अधिकारहनन तथा ज्यादतीका घटनामा ९ सय १८ जना पीडित भएको जानकारी दिनुभयो । अन्य पक्षबाट भएका महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लड्घनका घटनामा २ सय ९९ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष प्रदेश १ मा अपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बाल अधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिला अधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन् । सन २०२२ मा प्रदेश १ मा मोरङको लेटाङमा भएको प्रहरी जवानको हत्या, बालिकामाथिका सामूहिक बलात्कारपछिका श्रृखलावद्ध हत्या र उदयपुरमा स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते प्रहरीको गोली प्रहारबाट भएको मृत्यु घटनाले नागरिकले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेको दृश्य देखाएको इन्सेकले जनाएको छ ।
सन् २०२२ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७ जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ । राज्यपक्षबाट भएका पाँच घटनामा ३१ जना र अन्यपक्षबाट भएका तीन प्रकारका घटनामा १६ जना पीडित भएका छन् । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले मानव अधिकारका घटना न्यूनीकरणमा प्रदेश सरकार र स्थानीय तहहरूले समेत ध्यान दिनु पर्ने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ की निमित्त कार्यालय प्रमुख तथा उपसचिव गीता दाहालले अधिकारकर्मी, सामाजिक अभियन्ता र पत्रकारहरूले मानव अधिकारका विषयमा केन्द्रीत भएर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले इन्सेकले निरन्तर ३१ वर्षदेखि नेपालको मानव अधिकार अवस्थाको चित्रण गर्दै वर्ष पुस्तक प्रकाशन गर्नु आँफैमा उपलब्धि भएको बताउनु भयो । उपसचिव दाहालले इन्सेकले मानव अधिकारसँग जोडिएका विषयमा स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेका कारण पीडितहरूले न्याय पाएको बताउनु भयो ।
वरिष्ठ पत्रकार यज्ञ शर्माले मानव अधिकार वर्ष पुस्तक २०२३ र यस अघिका वर्षहरूमा प्रकाशित पुस्तकहरूको विषयमा विश्लेषण गर्नु भएको छ । उहाँले मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको अवस्थाबारे चित्रण गरेको बताउनु भयो । इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले इन्सेकले ७७ ओटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेको तथ्याङ्कका आधारमा हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक तयार पार्दै आएको बताउनु भयो । उहाँले वर्ष पुस्तकलाई थप प्रभावकारी र परिस्कृत गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । पत्रकार भेटघाट कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको उत्कृष्ट अभिलेखीकरण गरेका इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापालाई ७ हजार रुपियाँ नगदसहित प्रशंसापत्रले सम्मान गरिने इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ ।
विनोद सुवेदी