सबैलाई आभास हुनेगरी अभिभावकत्व प्रदान गर्ने ः नगर उपप्रमुख खनाल
सुर्खेत । २०७९ जेठ १६ गते
वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले सबैलाई आभास हुने गरी अभिभावकत्व प्रदान गर्ने वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा दैलेख र सुर्खेतका किशोर÷किशोरीहरूलाई दिइएको आत्मरक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम समापन कार्यक्रममा उपप्रमुख खनालले जेठ १५ गते उक्त प्रतिवद्धता जनाएको भएको हो । स्थानीय तहलाई घरको आमासँग तुलनागर्दै उपप्रमुख खनालले आफ्नो घरपरिवार र बालबालिकाको जसरी आमाले ख्याल गर्नु भएको हुन्छ त्यसैगरी आफूले आमाको भूमिका निर्वाह गर्ने बताउनु भयो ।
तालिम समापन कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले छोराछोरी घर बाहिर निस्कदा कतै असुरक्षित हुन्छन की भन्ने अभिभावकहरूलाई चिन्ता हुने गरेको भन्दै आत्मरक्षा तालिमले त्यो चिन्ता हटाउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक सजना सुनारले आत्मरक्षा तालिमले जोखिमपूर्ण अवस्थामा जोगाउने र अरु बेला आत्मविश्वास दिने बताउनुभयो । जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक सर्मिला विसीले आत्मरक्षा तालिमबारे समुदायस्तरमा सिकाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै तालिममा सहभागीहरूले सिकेका कुरा समुदायमा सिकाउन सुझाव दिनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आत्मरक्षा तालिमले यौन हिंसाजन्य घटनामा न्यूनीकरण गर्न मद्धत पुग्ने बताउनुभयो । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण, हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान र आत्मरक्षा सम्बन्धि विभिन्न चरण लगायतका विषयमा प्रशिक्षित गरिएको थियो । जेठ १३ गतेदेखि सुरु भएको तालिममा २७ जना किशोर किशोरी सहभागि भएको कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत