समसामयिक मानव अधिकार अवस्थाका बारेमा इन्सेकको टोलीद्वारा सशस्त्र प्रहरी महानिरीक्षकसँग छलफल
काठमाडौँ । २०७९ चैत ८ गते
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले चैत ८ गते सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा भेट गरी समसामयिक मानव अधिकार अवस्थाका बारेमा छलफल गरेको छ । सशस्त्र प्रहरी बलले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि काम गर्दै आएको र मानव अधिकारको संरक्षणका लागि गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने महानिरीक्षक अर्यालले बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि इन्सेकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा मानव अधिकार शाखा सुचारू रहेको बताउनु भयो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सशस्त्र प्रहीले स्थापना कालदेखि नै मानव अधिकारको संरक्षणमा भूमिका खेल्दै आएको र आगामी दिनमा पनि मानव अधिकारको क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो । प्रहरी महानिरीक्षक सिंहसँगको भेटमा इन्सेकबाट अध्यक्ष अर्यालसहित कार्यकारी निर्देशक विजयराज गौतम र कृष्ण गौतम सहभागी हुनु भएको थियो । महानिरीक्षकसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालय, कानुन महाशाखाका प्रमुख एसएसपी युवराज अर्याल पनि भेटमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लगायतका पुस्तकहरू र सशस्त्र प्रहरीद्वारा प्रकाशित सामग्रीहरू आदानप्रदान गरिएको थियो ।
अनलाइन डेस्क