समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणका लागि मानव अधिकार समूहको बैठक सम्पन्न

कञ्चनपुर । २०७९ कात्तिक २ गते

लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहले नगरपालिकामा रहेका मानव अधिकार समस्या पहिचान तथा समूहको कार्ययोजना बैठक असोज ३१ गते लालझाडी गाउँपालिकामा सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद तथा जातीय छुवाछुत, जस्ता समस्या रहेकाले समस्यासँग सरोकार राख्ने सरोकारवालाहरूको पहिचान गर्दै समस्याहरू समाधानका लागि कार्ययोजना बनाई काम गर्ने मानव अधिकार समूह लालझाडीका सचिव प्रवेश रानाले बताउनु भयो । विद्यालयहरुमा दरबन्दी अनुसार शिक्षकहरूको पदपुर्ति नहुनु, विद्यार्थी अनुपातमा भौतिक संरचनाको अभाव, सुत्केरीले बाटो खर्च तथा पोषिलो खाना खान नपाउने, न्यानो झोला समयमै नपाउने लगायतका समस्या रहेको उहाँको भनाइ छ । विद्यायालय परिसरमै सुर्तिजन्य पदार्थहरू विक्री वितरण हुने गरेको लगायतका समस्याहरू पहिचान गरी समूहले राजनीतिक दलहरूलाई आआफ्नो पार्टीको चुनावी घोषणापत्र तयार पार्न आग्रह गर्दै प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने, समस्याहरु समाधान गर्नकालागी गाउँपालीका अध्यक्ष लाई समेत ध्यानाकर्षणपत्र बुझाउने निर्णय बैठकले गरेको सचिव रानाले जानकारी दिनु भयो ।

बैठकमा इन्सेक सहजकर्ता कैलाश पनेरुले प्रदेश तथा प्रतिनीधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूद्वारा आयोजना गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा कसैको पक्ष तथा विपक्षमा सहभागी नहुन मानव अधिकार समूहका सदस्यहरूलाई आग्रह गदै मानव अधिकारसँग सम्बन्धित सूचनाहरूप्रति सजग रहन आग्रह गर्नु भयो । त्यसैगरी बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहले नगरपालिकामा रहेको समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान गरी कार्ययोजना निर्माण बैठक असोज ३० गते बेलौरी नगरपालिकामा सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, जातीय छुवाछुत, लैङ्गिक हिंसा तथा वातावरणको अधिकार लगायतका समस्या बेलौरी नगरपालिकामा रहेकाले यस्ता समस्यालाई उजागर गर्नका लागि मानव अधिकार समूहले कार्ययोजना बनाई काम गर्ने मानव अधिकार समूहका संयोजक गोविन्दप्रसाद सापकोटाले बताउनु भयो । बैठकमा समूहका सदस्यहरूले नगरक्षेत्रका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदै आएको, नेपाल सरकारबाट निशुल्क रुपमा वितरण गरिने औषधिहरूको अभाव रहेको, बस्तीहरूकै बिचमा भएका इँटा उद्योगहरूले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषित भइरहेको, अझैपनि ग्रामीण क्षेत्रमा जातीय छुवाछुत हुने गरेको, विद्यायालय परिसरमै सुर्तीजन्य पदार्थहरू विक्री वितरण हुने गरेको लगायतका समस्याहरू पहिचान गरेको मानव अधिकार समूह बेलौरीका संयोजक सापकोटाले बताउनु भयो । उहाँले भन्नु भयो–‘समूहले पहिचान गरेका समस्याहरूलाई समाधान गर्ने गरी राजनीतिक दलहरुलाई आआफ्नो पार्टीको चुनावी घोषणापत्र तयार पार्न आग्रह गर्दै प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने, समस्याहरू समाधान गर्नका लागि नगर प्रमुखलाई समेत ध्यानाकर्षणपत्र बुझाउने निर्णय बैठकले गरेको छ ।’

लिली कुँवर