समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

कपिलवस्तु । २०७८ भदौ १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल अन्तरगत बुद्धभूमि नगरपालिका– ९ मा समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम भदौ १३ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका सदस्य तथा सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवासको अधिकारका विषयमा स्थानीय तहमा भएका समस्या, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ । कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असरहरूका विषयमा  छलफल गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड– १९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिया गर्ने , निशुल्क र अनिवार्य आधारभूत शिक्षाका विषयमा निःशुल्क भनिए पनि शुल्क लिने गरेको हुँदा कुन विद्यालयले कति शुल्क लिएको छ स्थलगत अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय भएको छ ।

यसैगरी कोभिडका कारण दिर्घरोगी तथा रोगीहरूको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने तथा बुद्धभुमि नपा– ९ ईमिलियामा जनता आवास कार्यक्रको अनुगमन गरी दलित र पछाडि पारिएका समुदायलाई आवास सेवा उपलब्ध गराउनकालागि सम्बन्धित वडा र नगरपालिका सँग पहल गर्ने निर्णय गरिएको छ । खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्ने , कृषकहरूलाई रासायनिक मल बिँउ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्ने , कुमाल टोललाई आवासको अधिकार अन्तरर्गत नगरपालिकाले खरका छाना हटाउने योजना पुरा नभएको हुँदा कार्यान्वयनका लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय भएका छन् ।

पार्वती आचार्य