समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक समपन्न

सिरहा । २०७८ भदौ ३१ गते

बिष्णुपुर गाउँपालिकामा भदौ ३० गते मानव अधिकार समूहको बैठकमा समस्या पहिचान तथा कार्य योजना निर्माण गरिएको छ । बैठकमा मानव अधिकार समूहले बिष्णुपुर गाउँपालिकाको शिक्षा, सवास्थ्य, खाद्य र अवाससम्बन्धी विभिन्न समस्याहरु पहिचान गरी समस्या समाधानका लागि कार्ययोजना निर्माण गरेको हो । बैठकले शिक्षाको सवालमा बिष्णुपुर गाउँपालिकामा रहेका माविहरुमा पुस्तक खरिदमा आर्थिक अनियमितता भएको र बिष्णुपुर गाउँपालिका-२ राजपुर मावि तथा अमहा प्राविमा दरबन्दी अनुसार शिक्षक भएपनि कतिपय शिक्षकहरु विद्यालयमा अध्ययापन गराउन नगएको समस्या पहिचान गरेको छ ।

स्वास्थ्यसम्बन्धी सवालमा बिष्णुपुर गाउँपालिका वडा नं. ४ मा रहेको बर्थिङ्ग सेन्टरमा २४ घण्टा नै सेवा उपलब्ध नभएको समस्या पहिचान गरिएको छ । खाद्य अधिकारअन्तर्गत कृषकहरुलाई समयमा मल तथा बिउविजन उपलब्ध नभएको र कृषि सामग्री वितरणमा विभेद हुने गरेको समस्या पहिचान गरिएको छ । आवासको अधिकार अन्तर्गत सदा समुदायमा अहिले पनि छानाको घरमा असुरक्षित रुपमा बस्न बाध्य रहेको र वडा नं. १, ३ र ४ मा केहि नागरिकहरु घरवारविहीन भएका समस्याहरु पहिचान गरिएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र अवासका सवालमा पहिचान गरिएका समस्याहरु सम्बोधनका लागि सरोकारवाला निकायको पहिचान गरी स्थानीय समुदाय र सरोकारवालाबिच अन्तर्क्रिया गरेर सम्बन्धित निकायलाई असोज र कात्तिक महिनामा ध्यानाकर्षण गराउने गरी कार्ययोजना निर्माण गरिएको छ ।

इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षणका लागि इन्सेकले विगत लामो समयदेखि नै आफ्ना अभियान र कार्यक्रमहरु सञ्चालन गर्दै स्थानीय समुदायलाई सचेत पार्ने र जिम्मेवार निकायलाई जबफदेही बनाउने कार्य गरेको बताउनु भयो । बैठकमा बिष्णुपुर गाउँपालिकाका-१ का वडा अध्यक्ष गोपिन्द्र यादवले इन्सेकले आधारभुत मानव अधिकारका सवाललाई उठान गरेकोले यसमा सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा निकै समस्या रहेकोले समस्या समाधानका लागि कार्यपालिकाबाट मात्र नभई सबै सङ्घसंस्था तथा मानव अधिकार समूहको पनि उतिकै भूमिका आवश्यक रहेको बताउनु भयो ।

त्यसैगरी भदौ ३० गते सखुवानन्कारकट्टी गाउँपालिकामा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्य योजना निर्माणका लागि मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ । पहिचान भएका समस्याहरु समाधानका लागि सेवा प्रदायकहरुलाई ध्यानाकर्षण गराउने गरी कार्ययोजना निर्माणसमेत गरिएको छ । बैठकले शिक्षासम्बन्धी सवालमा श्री मावि महेश्वारीमा ७ सयभन्दा बढी विद्यार्थीका लागि चार जना मात्र शिक्षक रहेको (माविमा एक, प्राविमा तीन र निमाविमा शिक्षक नै नरहेको), बालमैत्री विद्यालय नभएको, बालविकास कार्यक्रम प्रभावकारी नभएको लगायतका समस्या पहिचान गरेको छ ।

स्वास्थ्यसम्बन्धी सवालमा स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध नभएको, सबै स्वास्थ्य चौकीमा नागरिक वडा पत्र नराखिएको, सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ मा बर्थिङ्ग सेन्टर रहेपनि स्वास्थ्य सामग्री अभाव रहेको लगायतका समस्या पहिचान गरिएको छ । खाद्यसम्बन्धी सवालमा गाउँपालिकामा खाद्य भण्डारणको अभाव, अतिविपन्न गरिव, दलित, सीमान्तकृत समुदायमा पोषणयुक्त खानाको अभाव, मल, बिउविजन केन्द्र नभएको, विषादीको प्रयोग, समयमा मल, बिउविजन कृषकले नपाएको लगायतका समस्या पहिचान गरिएको छ । आवाससम्बन्धी सवालमा गाउँपालिका भित्रका अति विपन्न समूदायहरुलाई सुरक्षित आवास नभएको तथा जनता आवास कार्यक्रमा विभेद भएको कारण प्राथमिकताका आधारमा घरहरु निर्माण नभएको र निर्माण भएका घरहरु पनि हालसम्म पूर्ण हुन नसकेको लगायतका समस्याहरु पहिचान गरिएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी पहिचान गरिएका समस्याको समाधानका लागि सम्बन्धित निकायमा डेलिगेशन जाने, ध्यानाकर्षण गराउने र सर्वपक्षीय भेला तथा अन्तरक्रिया कार्यक्रममार्फत नागरिकका हक अधिकारका लागि पहल गर्ने गरी वार्षिक कार्य योजना निर्माण गरिएको छ । कार्यक्रममा इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षणका लागि इन्सेकले विगत लामो समयदेखि नै आफ्ना अभियान र कार्यक्रमहरु सञ्चालन गर्दै स्थानीय समुदायलाई सचेत पार्ने र जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्य गरेको बताउनु भयो ।

दुर्गा परियार