समाज कल्याण परिषद्का प्रतिनिधिद्वारा इन्सेकका कार्यक्रमको अनुगमन
कालीकोट । २०७९ चैत २६ गते
समाज कल्याण परिषद्का प्रतिनिधि टोलीले खाँडाचक्र नगरपालिकामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गरेको छ । समाज कल्याण परिषद्का प्रतिनिधि बलराम देवकोटा,इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी लगाएतको टोलीले चैत २५ गते कालिकोट खाँडाचक्र नगरपालिकामा पुगेर इन्सेकले गरेका कार्यक्रमको अनुगमन गरेको हो । उक्त टोलीले चैत २५ गते खाँडाचक्र नगरालिकामा रहेको मानव अधिकार समूह,मानवअधिकार रक्षक सञ्जाल र इन्सेक प्रतिनिधि,नगर कार्यपालिका सदस्यसँग इन्सेकले सञ्चालन गरेका कार्यक्रमको उपलब्धी, सिकाई र चुनौतीका विषयमा छलफल गरेको थियो । नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक कपुरे बिकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा विभिन्न अभियान सञ्चालन गरेका बताउदै, कर्मचारी तथा जनप्रतिनिधिहरूको सहकार्य र समन्वयमा समूहले गरेको उपलब्धी तथा दिगोपनाका बारेमा जानकारी गराउनु भयो । साथै उहाँले मानव अधिकार समुह र इन्सेकको पहलमा एक जेष्ठ नागरिले ६२ बर्षको उमेरमा नागरिकता प्राप्त गरेको बताउनु भयो ।
मानव अधिकार समूहका पूर्व सयोजक एवम हाल नगर कार्यपालिका सदस्य अविसरा अधिकारीले इन्सेकको कार्यक्रम अन्तरगत गठित समुहको पहलले नगरपालिका भित्र खरमुक्त छाना भएको,खानेपानीको समस्या समाधान भएको,शिक्षक नभएका विद्यालयमा शिक्षकको व्यवस्था भएको,विद्यालय दिवा खाजाको सदुपयाग भएको जानकारी गराउनुभयो । यसैगरी, इन्सेक कर्णाली प्रदेश संयोजक नरायण सुवेदीले प्रदेश इन्सेकले गरेका कार्यक्रमबाट छोटो समयमानै महत्वपूर्ण उपलब्धी हासिल भएको बताउनु भयो । साथै उहाले शिक्षा,स्वास्थ्य,खाद्य आवसका सवालमा स्थानीय सरकालाई जवाफदेही वनाउने कार्यमा कार्यक्रमको भूमिका रहेको वताउदै मानव अधिकार उल्लङ्घनबाट पीडितको न्यायमा पहुच समेत वृद्धि भएको जानकारी गराउनु भयो । टोलीले चैत २६ गते जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सँग भेटघाट तथा छलफल गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले मानव अधिकार हननबाट पीडित भएकाहरुलाई न्याय दिलाउन वकालत गर्ने कार्यमा इन्सेकले जिल्लामा महत्वपूर्ण भूमिका खेलेको वताउनु भयो । यस्तै जिल्ला समन्वय समिति प्रमुख शाहीले पछाडी पारिएका समुदायलाई शिक्षा ,स्वास्थ्य र खाद्य अधिकारको विशेष लक्षित कार्यक्रमहरु पुनः सञ्चालन गर्नुपर्ने बताउदै पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना इन्सेकसँगको सहकार्यमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कालीबहादुर मल्ल