समुदायको विवाद समुदायमै मिलाउन जोड

सुर्खेत । २०७७ असोज २९ गते

 

वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले समुदायमा हुने सबै खालको विवाद समुदायमै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज ९ गते वीरेन्द्रनगरमा आयोजना गरेको न्यायिक समिति, सामुदायिक मेलमिलाप कर्ता र मानव अधिकार समूहका सदस्यहरूका लागि मानव अधिकारमा आधारीत तालिमको शुभारम्भ गर्दै सो कुरामा जोड दिनु भएको हो । वीरेन्द्रनगर नपा न्यायिक समितिका संयोजक समेत रहेकी ढकाललले समुदायमा हुने विवादहरुलाई समुदायमै समाधान गर्न सकेमा आर्थिक तथा कानुनी बोझ कम हुने उल्लेख गर्नु भयो ।

समुदायमा हुने विवाद तथा समस्या पहिचान गर्ने मानव अधिकार समूहका सदस्य तथा मेलमिलापकर्ताहरूलाई एकै स्थानमा राखेर दिइएको यस तालिम फलदायी हुने उपप्रमुख ढकालले बताउनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समुदायमा हुने विवादहरुको निरुपण गर्नका लागि न्यायिक समिति, सामुदायिक मेलमिलापकर्ता र मानव अधिकार समूहको क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको बताउनु भयो ।

तालिममा वीरेन्द्रनगर नपाका १६ वटै वडाका सामुदायिक मेलमिलापकर्ताका संयोजक जनप्रतिनिधी, न्यायिक समितिका सदस्य, कर्मचारी र मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उच्च अदालत बार एसोसियसनका अध्यक्ष उत्तम आचार्यले देवानी फौजदारी संहिता, न्यायिक समितिका अधिकार, चुनौति र प्रक्रिया तथा महिला अधिकारकर्मी उमा आचार्यले सामुदायिक मेलमिलापकर्ताको अधिकार र कर्तव्यका बारेमा सहजिकरण गर्नुभएको थियो ।

दुर्गा थापा