समृद्ध समाजकालागि समान हैसियत भएमात्र महिलाको सम्मान हुनेमा जोड
रुपन्देही । २०८० वैशाख २८ गते
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले समृद्ध समाजकालागि समान हैसियत भएमात्र महिलाको सम्मान हुनेमा जोड दिनु भएको छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय तथा प्रदेश सञ्जाल, इन्सेक रुपन्देहीलगायतका लुम्बिनी प्रदेशमा क्रियाशिल सङ्घ संस्थहरूको सहयोग तथा सहकार्यमा वैशाख २४ र २५ गते रुपन्देहीको तिलोत्तमामा आयोजित ‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नारासहित लुम्बिनी प्रदेश स्तरीय कार्यक्रममा बोल्दै गिरीले उक्त धारणा राख्नु भएको हो । विभेदका कारण पत्ता लगाएर त्यसको अन्त्य गर्दै नागरिकको जीवनस्तर सहज बनाउन संविधान सभाबाट संविधान बनाइएको उल्लेख गर्दै गिरीले संविधानमा भएका महिलाका अधिकारका विषय सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो । “विभेदबाट पछि पारिएको वर्गलाई अवसर दिनुपर्छ र सबैको समान हैसियल बनाउन आवश्यक रहेको उहाँले औल्याउनु भयो । संविधानमै राखिएका प्रावधानमा कतिपय शब्दले महिला प्रतिनिधित्वमा समस्या सृजना गरेको भन्दै गिरीले त्यसमा चनाखो भएर अगाडि बढ्न सबै महिलाहरुलाई आग्रह गर्नुभयो । राज्यले विशेष खालका नीति बनाएर प्रजनन् अधिकार, स्वास्थ्य लगायतका महिला अधिकारका विषय सुनिश्चित गर्नुपर्ने बताउदै “महिला आन्दोलन निरन्तर अगाडि बढिरहनुपर्छ त्यसमा हाम्रो साथ र सहयोग छ”, गिरीले भन्नु भयो । कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा.रेणु अधिकारीले पितृसत्ताको सोंच बदल्न जरुरी रहेको बताउनु भयो । “हामी लोकतन्त्र र गणतन्त्रका लागि लड्यौं, परिवर्तन पनि ल्यायौं तर एक थरिका लागि मात्रै । जसले आफ्ना आफन्त गुमायो, जो बलात्कारमा परे उनीहरुका लागि परिवर्तनको लडाईले के गर्यो”? डा. अधिकारीले भन्नुभयो ।
अधिवक्ता हेमा न्यौपानेले महिलाको नेतृत्वलाई उनीहरूको अधिकारको रुपमा स्वीकार गरेको अवस्था नहुनु र महिला जनप्रतिनिधिहरूको पारिवारिक, सामाजिक र राज्यकै श्रोतमाथि पूर्णरुपमा पहँुच स्थापित हुन नकसेका कारण सरकारलाई दबाब दिन महिला मञ्चको आयोजना गरिएको बताउनु भयो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियान्ता भूमिका श्रेष्ठले महिलालाई सधै दोस्रो दर्जाको रुपमा राख्ने समाजले तेस्रो लिङ्गी समुदायलाई पनि फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । “महिला अधिकारका लागि हामी पनि आन्दोलनमा जुट्यौ, अब हाम्रो मुद्धा पनि सबैको साझा सवाल बन्नुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरेले अपाङ्गता भएका महिला अझै पनि नेतृत्व तहमा पुग्न नसक्दा सवालहरु ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले अपाङ्गतामैत्री संरचना निर्माण र निर्वाचनमा अपाङ्गताको सहभागिता हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशमा ‘संक्रमणकालिन न्यायः चुनौतीहरू’, ‘मेरो शरीर मेरो अधिकार, रुपान्तरित नेतृत्वका सवालहरू मूख्य विषयकारुपमा कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नवनिर्वाचित महिला उपप्रमुख, उपाध्यक्षहरु, माहिला मानव अधिकार रक्षकहरू, महिला अधिवक्ताहरू, महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय सरकारका पदाधिकारीहरू, संचारकर्मी र मानव अधिकारकर्मीहरू गरी करिब तीन सय जनाको सहभागिता रहेको थियो । उक्त भेलाले “रूपान्तरित नेतृत्व आजको आवश्यकता”, महिला मञ्च २०८०, १४ बुदें घोषणापत्र जारी गर्दै समापन भएको छ । घोषणा पत्रमा द्वन्द्वको उत्पत्तिको मुख्य कारण संरचनात्मक विभेद भएको बताउदै .संक्रमणकालिन न्याय सम्बन्धी विधेयकले द्वन्द्वको समयमा भएका यौन हिंसा लगायतका मानवीय कानुन बिपरित भएका ज्यादतीहरूलाई मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषाभित्र नराखिएको प्रति ध्यानाकर्षण गराउँदै उक्त विधेयकलाई संशोधन गर्न माग गरेको छ ।
संविधानको धारा ३८(४) अनुसारको कानुन निर्माण गरी अविलम्ब कार्यान्वयन, निर्वाचनको प्रक्रिया र नियमावलीमा परिवर्तन गर्दै समुदाय तहदेखि महिलाको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । महिलाहरुलाई सीमान्तकृत समुदायका नागरिकलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निर्माण र कार्यान्वयन गरी नेतृत्व र सहकार्य गर्न अनुरोध गरिएको छ । घोषणापत्रमा रूपान्तरित नेतृत्व स्थापित गर्नका लागि समुदायदेखि नै सामाजिक तथा सांस्कृतिक रूपान्तरणको वातावरण तयार गर्नुपर्ने माग घोषण पत्रमा गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्ब प्रतिनिधि सभा सदस्य डा. बिन्द्रा पाण्डेले पदको नेता हुने की, जनताको नेता हुने असल नेताले सोच्नुपर्ने बताउनु भयो । राम्रा काम गर्दै गए एक दिन अवश्य गन्तब्यमा पुग्न सकिने भन्दै नेतृत्व रुपान्तरण गर्नकालागि सोचाई परिबर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।
रीमा बिसी
HUMAN RIGHTS NEWS PORTAL






