सरकार मानव अधिकारकाे रक्षा गर्न प्रतबद्ध छ: गृहमन्त्री लेखक

सुर्खेत । २०८१ मङ्सिर २६ गते

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा भाग लिन ०८१ मङ्सिर २५ गते सुर्खेत पुग्नुभएका गृहमन्त्री रमेश लेखकले सरकार मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भयाे ।

उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्गाेमा पुर्‍याउन आयोग गठनकाे प्रक्रिया अगाडि बढेकाे भन्दै पीडितलाई न्याय दिन सहज हुने बताउनु भयो । उहाँले पुर्व गृहमन्त्री रवि लामिछानेकाे प्रशंगमा बाेल्दै अपराधमा संलग्न भएको आरोप लागेका व्यक्ति माथि अनुसन्धान हुँदा मानव अधिकारको हनन् नहुने बताउनु भयाे ।

सार्वजनिक रूपमा रवि लामिछाने माथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानव अधिकारसँग जोड्न नहुने बताउनु भयाे । अनुसन्धान, अदालत र न्यायिक निरुपणलाई प्रभावित गर्ने कार्य गलत रहेको उल्लेख गर्दै सरकारले कसैको पनि मानव अधिकारको हनन् गर्ने कार्य नगरेको मन्त्री लेखकले दावी गर्नुभयाे । अनुसन्धान र न्यायिक प्रक्रिया कानुन सम्वत अघि बढ्ने उल्लेख गर्नै मन्त्री लेखकले भिडले न्यायको निरुपण नुहने बताउनु भयाे ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछाने माथि भइरहेको अनुसन्धान प्रभावित पार्न भइरहेका गतिविधिहरू स्टनबाजी रहेको उहाँले बताउनु भयाे । सरकार र मन्त्रि परिवर्तनको विषय हल्ला मात्रै भएको मन्त्री लेखकको भनाइ थियो । संविधानको रक्षा, सङ्घीय लोकातान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी प्रतिबद्ध रहेकाे बताउनु भयाे ।

गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्त्वपूर्ण प्रहरी संरचनाहरू नहुँदा नागरिकले सेवामा सास्ती पाएकाे भन्दै यथासिघ्र सार्न लागिएको बताउनु भयाे । कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि परम्परागत हिंसा भने चुनौतीका रुपमा रेहेको उहाँले बताउनु भयाे । लागुऔषध, आत्महत्या र घरेलु हिंसा कर्णालीमा चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको निरुपणमा सरकारले नयाँ ढङ्गले सुरक्षा योजना तयार पार्ने मन्त्री लेखकको भनाइ छ ।

जगतदल जनाला विक