सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै

सल्यानखबर डटकम । २०७८ मङ्सिर २६ गते

सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको छ । आइतबार खंलगामा अनौपचारिक सेवा केन्द्र इन्सेक  सल्यानद्धारा आयोजित नेपाल मानवअधिकार  वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरूको वार्षिक समीक्षा प्रस्तुत कार्यक्रममा जिल्लामा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले  हाल सम्म अभिलेखीकरण गरिएका घटनाहरू प्रस्तुत गर्दै जिल्लामा अघिल्लो वर्ष ५६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष ११ महिनाको अवधिमा पनि ५६ ओटा मानव अधिकारसँग जोडिएका घटनाहरू अभिलेखीकरण गरेको बताउनु भयो ।  जसमा  घरेलु हिंसा, बलात्कार, बलात्कारकारका प्रयास, कुटपिट, बहु विवाह, बोक्सी आरोप,  ज्यादती लगायतका घटना रहेका छन् ।

उहाँका अनुसार यस वर्ष सबै भन्दा बढी बालिका बलात्कारका १९ ओटा, बहु विवाहका ८ ओटा ,घरेलु हिंसाका ५ओटा,बोक्सी आरोपका १ ओटा,बलात्कारका ५ ओटा,बलात्कार प्रयासका १,कुटपिटका २,कुटपिट तथा घर निकाला४,बाल विवाह १,बालिका बेचबिखनका १, यौन दुर्व्यवहार २, हत्याका ६ ओटा र कारागारमा मृत्यु १ ओटा गरी जम्मा ५६ ओटा घटना अभिलेखीकरण गरिएको छ । 

मानव अधिकार उलङ्घनका घटनामा ११ देखि १८ वर्ष उमेर समूहका ३२ प्रतिशत, १९ देखि ४० वर्ष उमेर समूहका ४५ प्रतिशत, १० वर्ष देखि तल उमेर समूहमा ७ प्रतिशत, ४१ देखि ५९ वर्षका ७ प्रतिशत र ६० देखि माथि ९ प्रतिशत पीडित भएको पाइएको उहाँले बताउनु भयो । जिल्लामा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएकाले यस्ता घटनामा कमी ल्याउन राजनीतिक दल तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाइले उहाँले एकल प्रयासले यस्ता अभियानहरू सफल हुन नसक्ने भएकाले सबै निकाय यस तर्फ लाग्नु पर्ने बताउनुभयो । कसैले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने काम नगर्न र मानव अधिकार संरक्षणमा सबै लागि पर्नुपर्ने बताउनु भयो । 

जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले मानव अधिकार उल्लङ्घन न्यूनीकरणमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । अदालतबाट हुने सेवा प्रवाह पनि मानवअधिकार मैत्री भएकाले अधिकार संरक्षण गर्न अदालत सक्रिय भएर लागेको बताउनुभयो ।

कार्यक्रमका सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता जय प्रसाद धितालले गाउँका कुना कन्दरामा पुगेर घटना अभिलेखीकरण गर्नु र पीडितलाई न्यायको पहुँच सम्म पुर्‍याउन निकै चुनौती रहेको बताउनुभयो । यस्तो अवस्थामा समेत इन्सेकले जिल्ला दुर्गम स्थानमा पीडामा परेकोहरुलाइ परामर्श र अभिलेखीकरण गरी रहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले प्रहरीले मानवअधिकारको पूर्ण प्रत्याभूति दिलाउन आफूहरू लागी परे पनि विभिन्न समयमा प्रहरीले मानवअधिकार उल्लङ्घन गरेको कुरा बाहिर आउने गरेको बताउनुभयो । उहाँले प्रहरीले कार्य सम्पादन गर्ने क्रममा मानवअधिकारलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने गरेको बताउनुभयो । जिल्ला कारागार सल्यानका प्रमुख जेलर बल बहादुर केसीले इन्सेकले सार्वजनिक गर्ने गरेको यस्तो तथ्याङ्कले जिल्लामा आगामी दिनमा मानवअधिकार हनन र ज्यादतीका घटना न्यूनीकरण सम्बन्धी अभियान चलाउन सहज हुने बताउनुभयो । उहाँले कुन ठाउँमा कस्ता घटना भएका छन् भन्ने विषय पनि प्रस्ट रुपमा आएकाले यस तथ्याङ्कले आगामी दिनमा योजना बनाउन समेत थप मद्दत पुग्ने बताउनुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष सोविता बस्नेतले पछिल्लो समय मदिरा सेवन तथा वैदेशिक रोजगारीले समेत हिंसाका घटनाहरू बढ्दै गएकाले यस तर्फ पनि सबै सरोकारवालाहरूको ध्यान जानु पर्ने बताउनुभयो । पत्रकार महासङ्घ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले न्यायिक समितिहरूको काम त्यति प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेका कारण ग्रामीण क्षेत्रमा लैङ्गिक हिंसाका घटनाहरू बाहिर आउन नसकेको बताउनुभयो । इन्सेकको इएलपी परियोजना संयोजक रामचन्द्र रेग्मीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Source: सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै (salyankhabar.com)