सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ։ अध्यक्ष जिसी
नवलपरासी (सुस्ता पूर्व) । २०७७ माघ १२ गते
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले गाउँपालिकाको चार ओटा वडामा स्वास्थ्य चौकी र तीन ओटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको बताउनुभयो । उहाँले गाउँपालिका भित्रका सबै वडाहरूमा स्वास्थ्य संस्था स्थापना, निःशुल्क औषधीको व्यवस्थापनको काम भएको भन्दै गाउँपालिका भित्र सहज र सरल रूपमा स्वास्थ्य सेवाको पहुँच स्थापनाको काम भएको भन्दै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र टाढा भएको स्थानमा थप चार वटा स्वास्थ्य इकाइ समेत स्थापना गरिएको उहाँले बताउनुभयो । अन्तरक्रियाको क्रममा सहभागीहरूले महेन्द्र राजमार्ग विस्तारको क्रममा जीर्ण बनेको सडकको कारण बजार क्षेत्रमा अत्याधिक प्रदुषण बढ्दा मानव स्वास्थ्यमा असरको परेको भन्दै त्यसको नियन्त्रणको लागि उठाएको सवालको जवाफ दिदै अध्यक्ष जिसीले तत्कालिन प्रदुषण नियन्त्रण र दिर्घकालिन व्यवस्थापनको लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो ।
विनयीत्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु ढकालले नीजि स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा मंहगो बन्दै गएको अवस्थामा सुलभ स्वास्थ्य सेवाको लागि सरकारी स्वास्थ्य संस्थाहरूको सङ्ख्या बढाउन आवश्यक रहेको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्रराज काफ्लेले गाउँपालिकामा स्वास्थ्य ईकाइ सहित ११ ओटा स्वास्थ्य संस्था भएपनि नेपाल सरकारले निर्धारण भएको मापदण्ड अनुसारको भवन एक ओटा स्वास्थ्य संस्थामा मात्रै रहेको बताउनुभयो । कोभिड–१९ को कारण थपिएको चुनौतीको व्यवस्थापनमा गाउँपालिका तयार रहेको भन्दै उहाँले यस क्षेत्रमा सहज स्वास्थ्य पहुँचको लागि पूर्ण खोप, पोषण सहितको कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । स्वास्थ्य संस्थाबाट वितरण हुने निःशुल्क औषधीको उपलब्धता कोभिड–१९ को समयमा केही कमि देखिएपनि अहिले सबै प्रकारको औषधीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा दुम्कीबास स्वास्थ्य चौकीका प्रमुख तिलकुमारी कुमालले स्वास्थ्य संस्थामा शुद्ध पिउने पानीको व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभएको थियो । उहाँले स्वास्थ्य सेवाको लागि आउने सेवाग्राहीको लागि शुद्ध पानीको व्यवस्थापन गर्न खाचो रहेको बताउनुभयो । सो कुरामा आफ्नो धारणा राख्दै अध्यक्ष जिसीले आफूलाई त्यसबारेमा पूर्व जानकारी नभएको भन्दै सबै स्वास्थ्य संस्थामा शुद्ध पिउने पानीको व्यवस्थापन तत्काल गरिने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले गाउँपालिकामा स्वास्थ्य संस्थाबाट वितरण हुने निशुल्क औषधीको उपलब्धता, स्वास्थ्य बिमा कार्यक्रम, बढ्दो प्रदुषणको कारण मानव स्वास्थ्यमा परेको असरको बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी अधिकारको व्यवस्था गरिएको भन्दै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नु तीनै तहका सरकारको दायित्व भएको बताउनु भएको थियो । मानव अधिकार समूह विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन परियोजना सहजकर्ता गंगा विश्वकर्माले गर्नुभएको थियो ।
तिर्थराज डुम्रे