





तनहुँ । २०७७ असोज ८ गते
४१ औं सामाजिक सेवा दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) लगायत विभिन्न सङ्घ संस्थाहरुको सहयोग र गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखाको आयोजनमा दमौली अस्पतालद्वारा सञ्चालित आइसोलेशन सेण्टरमा रहेका कोरोना सङ्क्रमितलाई असोज ७ गते फलफूल वितरण गरिएको छ ।
इन्सेक तनहुँ ग्रामिण सशक्तिकरण समाज तनहुँ र संयुक्त दलित उत्थान मञ्च तनहुँको सहयोगमा सो फलफूल प्रदान गरिएको हो ।
‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता भन्ने मुल नाराका साथ कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै यस वर्षको समाजिक सेवा दिवस जिल्ला स्तरमा फलफूल वितरण गरेर मनाइएको गैसस महासङ्घ तनहँुका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष एवंम गण्डकी प्रदेश सदस्य रामलिला सुवर्णकार र इन्सेक प्रतिनिधि एवंम गैसस महासङ्घका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीलाई सो फलफूल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा ३० किलो स्याउ र ६ दर्जन केरा आइसोलेशन सेण्टरमा प्रदान गरिएको थियो ।
सो अवसरमा दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीले दमौली अस्पतालद्वारा सञ्चालित आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितहरुलाई फलफूल प्रदान गरेकोमा महासङ्घ तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुभयो । सो आइसोलेशन सेण्टरमा अहिले २२ जना कोरोना सङ्क्रमित छन् ।
प्रकाशचन्द्र भट्टराई