सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

मकवानपुर । २०८० असोज १३ गते

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० असोज १२ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा मनहरी गाउँपालिकाको वडा नं. ३ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण’ रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै मुना कटुवाले सामुदायिक वन मासिने र जल जमिन जङ्गलको संरक्षणमा सरोकारवाला तथा सबै निकायले यसमा पहल गर्नुपर्ने बताउनुभयो । उहाँले महिलामाथि हुने मानसिक हिंसा तथा दुर्व्यवहार प्रति न्यूनीकरण गराई स्थानीय सरकारको नीति र योजना कार्यक्रम के छ ?, सामाजिक सेवा क्षेत्र बिकास मा के योजना छ वडा र स्थानीय तहले सार्वजनिक सरकारका विषयमा थप छलफल चलाएको छ वा छैन ?, महिलाको अर्थपूर्ण सहभागितामा नीति योजना कार्यक्रमको कस्तो उपलब्धि भएको छ ?, भूमिहीन किसान वर्गले सबै क्षेत्रबाट के-कस्तो सुविधाहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको स्थानीय सरकारले कस्तो खाले योजना बनाएको छ ? जस्ता विषयमा प्रश्न उठाउनु भएको थियो ।

 

बालबालिका, अपाङ्गता र ज्येष्ठ नागरिको क्षेत्रको विकासका लागि पहल गरिनु पर्ने, सीपमूलक र अपाङ्ग मैत्री जोडिने कार्यक्रम सचेतीकरणमा पहल गरिनु पर्ने उहाँले उक्त कार्यक्रममा बताउनु भयो । बालबालिका र युवाहरूको लागु पदार्थ दुर्व्यसनमा फसेका कारण यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले के कस्तो भूमिका छ त्यसको बारेमा पनि पहल गर्नलाई आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यवाहक वडा सदस्य वीरबहादुर प्रजाले आगामी दिनमा महिला बालबालिका लक्षित कार्यक्रम र शिक्षा स्वास्थ्यका गुनासोलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले स्थानीय तहबाट ज्येष्ठ नागरिक महिला बालबालिकाका लागि थप समन्वय गर्न सरोकारवाला तथा विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । सहायक वडासदस्य प्रजाले परियोजना र स्थानीय तहबाट सामाजिक विकासका क्रियाकलापमा थप अग्रसर गरिने जानकारी दिनुभयो । कार्यक्रमको उद्देश्य र सहजीकरण गर्दै इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो ।

पुष्पराज अधिकारी