सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न

मकवानपुर । २०७९ चैत २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिकामा ०७९ चैत १६, १७, १९ र २० गते कार्यक्रम गरेको हो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई वडा नं १ का महिलाहरूले महिलाको वृत्ति विकासका लागि विनियोजित बजेट के कसरी कार्यान्वयन भइरहेको छ भन्दै प्रश्न गरेका छन् । डब्लुपीडी र इन्सेकले सञ्चालन गरेको अधिकार तथा आर्थिक विकास मार्फत महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित सार्बजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो प्रश्न गरेका हुन् । स्थानीय अगुवा महिला नितुमाया थिङले भन्नुभयो–‘महिला र बालबालिका शीर्षको बजेट के कसरी कार्यान्वयन भइरहेको छ ? हामीलाई कुनै पनि जानकारी गराइएको छैन, किन हो अध्यक्ष ज्यू !’ उहाँले यस्ता विषयहरूमा महिला समूहहरूसँग छलफल गरेर अघि बढ्न वडा कार्यालय, जनप्रतिनिधिहरू र पालिकालाई आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा वडा नं १ मा सोलार प्रणालीको सिंचाई लामो समयदेखि पूर्ण नभएको, स्वास्थ्य चौकी निर्माण सुस्त भएको, स्थानीय विद्यालयहरुमा बाबुआमा नभएकाहरुलाई पनि सशुल्क भर्ना गर्नुपर्ने अबस्था रहेको, महिलाहरूको पाठेघर र आँखा जाँच कार्यक्रम सञ्चालन नभएको जस्ता विषयहरू उठान भएको थियो । त्यसैगरी गाउँ समाजमा जाँडरक्सी खाने, दिनभरि तास खेलेर घर पुगेका पतिहरूले साँझपख महिलालाई मानसिक तनाव दिने र सामाजिक असुरक्षा पैदा गर्ने कार्य समेत गर्नेगरेको महिलाहरूले बताएका थिए । कार्यक्रममा सहभागीहरुका प्रश्नको जबाफ दिँदै वडाध्यक्ष शिवप्रसाद खनालले स्थानीय महिलाहरुले उठाएका हरेक सबाललाई आगामी दिनमा कार्यान्वयन गरिँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘तपाईहरूले मलाई गाली गर्न नछाड्नुहोस्, दुई दुई पटक वडाध्यक्षमा जिताएर मलाई लगाउनु भएको गुण तिर्नुपर्नेछ ।’

कार्यक्रमको पूरै अवधिमा आएका गुनासोहरू सुनेपछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जनस्तरमा हुने सबैखाले अन्तरक्रियाहरूमा आफू सहभागी हुने र जनताको गुनासो सुनेर योजना निर्माण गर्ने कार्यलाई ध्यान दिने प्रतिबद्धता जनाउनु भयो । उहाँले ठेकेदारलाई पटक पटक ताकेता गरेर स्वास्थ्य चौकी निर्माणको कामलाई निरन्तरता दिन कागज समेत गरिएको सुनाउँदै छिट्टै स्वास्थ्य संस्था चौकी निर्माण कार्य सुचारु हुने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य चौकीकी प्रतिनिधि मनजिरा डंगोल, वडा सचिव सुरेन्द्रप्रसाद न्यौपाने, कार्यपालिका सदस्य सेतीमाया तामाङले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनु भएको थियो । मनहरी गाउँपालिका वडा नं ३ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालय सुधारका लागि हरेक वर्ष बहस र पहल हुने गरेको छ । तर, जति नै बहस भएपनि तीब्र राजनीतिक ध्रुवीकरण, अभिभावकको बेवास्ता र कतिपय शिक्षक–कर्मचारीको ‘राजाको काम, कहिले जाला घाम’ भन्ने सोचले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अबस्था थिलोथिलो नै देखिन्छ ।

वार्षीक परीक्षासँगै विद्यालय सुधारका अनेकन उपायहरू झिकिँदैछ । तर, अहिले अख्तियार गरेका उपायहरूले तत्कालै नतिजा दिँदैन । प्रधानाध्यापक गोविन्दप्रसाद चौलागाई भन्नुहुन्छ–‘डोजरले बाटो खन्यो भने आजको भोलि नै देखिन्छ, शैक्षिक सुधारका कुरा नतिजामा देखिने कुरा हो ।’ चैत १७ गते ३ नं वडा कार्यालयमा आयोजना गरिएको एउटा अन्तरक्रिया कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको वडाध्यक्ष अनन्तप्रकाश अर्यालको अगाडि एक अभिभावकले निकै मार्मिक कुरा सुनाउनु भयो । अबको शैक्षिक सत्रमा निर्मम ढंगले शिक्षक र विद्यार्थीहरुलाई सुधारको प्रयत्न हुने वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्त प्रकाश अर्यालले बताउनुभयो । ‘मलाई सामाजिक रुपमा राजनीतिक रुपमा घाटा होला, तर विद्यालय सुधारका लागि म ती सबै घाटा ब्यहोर्न तयार भएको छु’, अर्यालले भन्नुभयो–‘तुलनात्मक रुपमा हामीले विद्यालयलाई सुधार्दै लगिरहेको अवस्था हो ।’

  

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नं वडामा कृषि, स्वास्थ्य, पशु, खानेपानी, भौतिक विकास लगायत क्षेत्रमा उठेका सवालहरूबारे गाउँपालिका अध्यक्ष कालाखेतीले चार वर्षे अवधिमा सबै गुनासोहरू साम्य हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो । ट्युबवेल सेट मार्फत खानेपानी व्यवस्थापनमा कन्जुस्याइँ नगरेको बताउँदै अध्यक्ष कालाखेतीले भन्नुभयो–‘८/१० घरको खानेपानी समस्या समाधान ट्युबवेल प्रयोग गरेर हुन्छ भने म भोलि नै व्यवस्था मिलाउँछु, सिफारिस लिएर गाउँपालिका कार्यालय आउनू ।’ कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले महिला, बालबालिका, ज्येष्ठ नागरिकका समस्या समाधानका लागि पनि गाउँपालिका उत्तिकै चनाखो भएर लागिपरेको बताउनु भयो । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शैलेस बास्कोटा, पशु विकास शाखा प्रमुख बरुण कुमार ठाकुर लगायतले पनि गुनासाहरुको जवाफ दिनु भएको थियो । इन्सेक र डब्लुपीडीले सञ्चालन गरेको अधिकार र आर्थिक विकास मार्फत महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित अन्तरक्रियामा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपाल, डब्लुपीडीका तिलकुमारी हुमागाई लगायतको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी शिवकुमार काशीले गर्नु भएको थियो । मनहरी गाउँपालिका वडा नम्बर ४ गोलघरमा सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सार्बजनिक सरोकार र महिला माथि हुने हिंसाका बारेमा स्थानिय सरकार र महिला तथा बालबालिकाबीच अन्तर्क्रिया कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो वडामा बालबिवाह गर्ने माथी कडा रुपमा प्रस्तुत हुने संकेत दिनुभयो ।

बालबालिकाको आमा बुवालाई समेत चौकिमा लगेर थुनिदिने चेतावनी दिनुभयो । बालबालिकाको राजीखुसी छ भने २० वर्ष कटेपछी परिवारले नदिए आफै अविभावक बनेर बिवाह गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडा सरकारले मिटर बक्स , शिक्षा र आवास निशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय सुधारको लागि तपाईं हामी सबैको कमजोरी रहेको भन्दै अविभावक आफै सजक हुनुपर्ने बताउनु भयो । तपाईं हाम्रो बालबालिकाको पढाई घरमा मात्र हैन स्कुलमा पनि आएर बेला बेलामा विद्यालयमा सोधपुछ गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाको शिक्षा, कृषि ,पशु र महिला तथा बालबालिकाको शाखा प्रमुखहरुले जवाफ दिएका थियो । मानव अधिकार समूह मनहरीका अध्यक्ष बिमला गोपालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, इन्सेक कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपाल लगाएतका सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिव कुमार रिजालले गर्नुभएको थियो ।

हेटौँडा उपमहानगरपालिका-१९ को समन्वयमा चैत २० गते भएको अधिकार तथा आर्थिक विकास मार्फत महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा आयोजित अन्तरक्रियामा बोल्दै महिलाहरूले विद्यालयको शैक्षिक अवस्था सुधार नआएकामा चिन्ता व्यक्त गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय अभिभावक सीता अधिकारीले विद्यालयका शिक्षकहरू कक्षा कोठामा अध्यापन कार्यमा सहभागी नभई विभिन्न काम भन्दै विद्यालय बाहिर बढी रमाउने गरेको आरोप लगाउनु भयो । खानेपानी र शौचालय समेत अव्यवस्थित रहेको भन्दै उहाँले पछिल्ला केही वर्षदेखि विद्यालयको अवस्थामा सुधार आउन नसकेको बताउनु भयो । त्यसैगरी सिर्जना बिडारीले आफू एक दिन विद्यालय पुग्दा चौरभरि विद्यार्थीहरू दौडिरहेका र शिक्षकहरू अफिसमा लुडो खेलिरहेको समेत भेटेको बताउनु भयो । ‘मैले फोटो खिचौँ भनेर पनि थर्काएँ तर खिचिन’, उहाँले भन्नुभयो–‘हामी ड्युटी गरेर रेष्टमा बसेका छौँ, हाम्रो ड्युटी सकियो’ भनेर जवाफ फर्काए । कार्यक्रमभर धेरैजसो अरनिको माध्यमिक विद्यालयकै चर्चा भयो । कतिपयले त शौचालयमा प्रयोग गरेका प्याड समेत विद्यार्थीले नै सफाई गर्नुपरेको गुनासो समेत सुनाउन भ्याए ।

उठेका सबै विषयहरूको जवाफ दिँदै विद्यालयका प्रधानाध्यापक विष्णु परियारले बिस्तारै बिस्तारै शैक्षिक सुधार हुँदै गएको बताउनु भयो । उठेका सबै विषयहरू जायज रहेको भन्दै उहाँले सबै मिलेर सुधार गर्दै जानुपर्ने र पछिल्ला केही वर्षहरुमा तुलनात्मक सुधार आइरहेको बताउनु भयो । त्यसैगरी नेवारपानीस्थित सहरी स्वास्थ्य इकाईमा शौचालयको समस्या रहेको, हल व्यवस्थापन हुन नसकेको लगायतका समस्याहरु उठान भएका थिए । इकाइकी स्वास्थ्य निरीक्ष सुसन शर्माले स्वास्थ्य केन्द्र सुधारका लागि वडाले बजेट नछुट्याएकोमा दुखेसो गर्नुभयो । कार्यक्रम निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारी, वडा सदस्य राजकुमार बजु, वडा कार्यालयका दीपकप्रसाद रिजाल लगायतले उठेका सबालहरूको जबाफ दिनु भएको थियो । इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपाल, डब्लुपीडीका फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाई लगायतको सहभागिता थियो ।

बागमती प्रदेश कार्यलय, हेटौँडा