सिड समितिको सुझावबारे परामर्श बैठक सम्पन्न

सुर्खेत । २०७८ मङ्सिर २ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय र साथी संस्थाको आयोजनामा मङ्सिर १ गते सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूलप्रवाहिकरण सम्बन्धी उच्चस्तरीय परामर्श बैठक सम्पन्न भएको छ । महिला बिरूद्ध हुने सबै प्रकारका विभेद अन्त्यको लागि संयुक्त राष्ट्र संघीय महासन्धी (सीड) समितिले नेपाललाई दिएका निष्कर्ष, सुझावहरूको विषयमा परामर्श र उक्त सुझावहरूलाई आन्तरिकीकरण गर्दै प्रदेश स्तरीय वार्षिक नीति तथा कार्यक्रममा लैङ्गिक मूलप्रवाहिकरण गर्न योगदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै सिड समितिको सदस्य बन्दना राणाले आफू सिड समितिको तर्फबाट नभइ अधिकारकर्मीको हैसियतले कार्यक्रममा आएको प्रष्ट्याउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा योजना शाखाका कर्मचारीहरू, कर्णाली प्रदेश योजना आयोगका प्रतिनिधि लगायत प्रहरी अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीकोसमेत उपस्थिती रहेको थियो ।

यसैगरी महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सिडले नेपाललाई दिएको सुझावका विभिन्न बुँदामा समूहगत रूपमा छलफल गरी प्रदेशको अवस्था र गर्नुपर्ने कामका बारेमा प्रस्तुती गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव आनन्द सारू, सामाजिक विकास मन्त्रालय महिला महाशाखा प्रमुख अनिता ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत