स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

भक्तपुर । २०७८ फागुन ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश संयोजक कृष्ण गौतमले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबीच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो । इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा फागुन ९ गते भक्तपुरको चाँगुनारायण नगरपालिकामा आयोजना गरेको स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले सो कुरा बताउनु भएको हो । उहाँले इन्सेकले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि मानव अधिकारको सवालमा आवाज उठाउँदै आएको बताउनु भयो । राज्यले मानिसको नैसर्गिक अधिकारको रूपमा स्थापित गरेको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सवालमा काम गर्दै आएको इन्सेकले प्रकाशित गरेको “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२” आफैमा एउटा दस्तावेज भएको चर्चा गर्नु भयो । वर्ष पुस्तकमा वर्षदिन भरी देशभरमा भएका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाका साथै राज्य पक्षले केके काम गर्‍यो, के के गर्नु पर्नेछ र मानव अधिकारको सवालमा भएको उपलब्धिहरूको फेरिस्ता समेटिने भएकोले राज्यकै लागि पनि यो पुस्तक एउटा दस्तावेज बन्ने बताउनु भयो । संयोजक गौतमले चाँगुनारायणमा इन्सेकले गठन गरेको मानव अधिकार समूहमार्फत स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्था कस्तो छ, कमिकमजोरी के छन्, स्थानीय सरकारले गर्नु पर्नेृ काम के हुन सक्छन्, के कस्ता उपलब्धीहरू छन् भन्नेबारेमा अध्ययन अनुसन्धान गर्दै सेवा प्रदायक र सेवाग्राहीबीच पुलको काम गर्दै आएको बताउनु भयो ।

 

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले नयाँ नगरपालिकाले शून्यबाट काम सुरु गरेका उल्लेख गर्दै नगरपालिकाले यो पाँच वर्षको अवधिमा ऐन, नियम, कार्यविधी, नीतिनियम बनाउँदैमा धेरै समय बितेको बताउनु भयो । यो समयमा पनि नगरपालिकाले आफ्ना नागरिकको हरेक अधिकारलाई सुनिश्चित गर्न काममा लागेको, आगामी १० वर्षमा सामुदायिक विद्यालयलाई निजी स्वसरहको गुणस्तरमा पुर्याउने, छोरीलाई बैँक खाताको व्यवस्था गर्दै रकम जम्मा गर्ने कायृक्रमहरू ल्याएर यस वर्ष मात्रै १२ सय बालबालिका सामुदायिक विद्यालयमा बढाउन सफल भएको जानकारी दिनु भयो । उहाँले जनताले पनि आफूले पाउने अधिकार पाइयो पाइएन चासो दिनु पर्ने बताउनु भयो । साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले इन्सेकले उठाएका धेरै विषयहरू सकारात्मक रहेको बताउँदै अहिलेका सूचना प्रविधिको युगलाई सही ढङ्गले प्रयोग गरे पनि धेरै सूचनाहरू जानकारी पाउन सकिने औँल्याउनु भयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीको क्षेत्रमा उपलब्धीमूलक काम गरेको उहाँले बताउनु भयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बीरबहादुर खड्काले नगरपालिकामा विद्यालयहरूलाई अपाङ्ग मैत्री बनाउनु आवश्यक रहेको औल्याउँदै स्थानीय पाठ्यक्रम लागू गर्ने, विद्यालयमा छात्रबृत्ति प्रदान गर्ने, प्राविधिक शिक्षाका लागि नौ जना इन्जिनियर, तीन जनालाई एमबिबिएस पठाउनसमेत नगरपालिकाले छात्रबृत्तिको व्यवस्था गरेको बताउनु भयो । 

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यनारायण दुवालले नगरपालिकामा रहेका ११ ओटा स्वास्थ्य संस्था मार्फत नगरवासीलाई स्वास्थ्य सेवा सहज रूपमा प्रदान गरेको बताउनु भयो । उहाँले यस नगरपालिकामा सिटामोललगायत सरकारले ता्ेकेको कुनै पनि औषधि अभाव नभएको, ८८ हजार जनसङ्ख्या रहे पनि आन्तरिक र अस्थायी बसोबास गर्नेहरू गरी कूल १ लाख ५ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको बताउनु भयो । आगामी फागुन २७ गते कोरोना युक्त खोप नगरपालिका घोषणाको तयारी गरेको बताउदै स्कुललाई जंकफुड निषेध नगरेसम्म समस्या रहने औल्याउनु भयो । त्यसअवसरमा कृषि शाखाका प्रतिनिधिले कृषि प्राविधिकले सिफारिस गरेको लोकल जातको धान नलगाई बाहिरबाट हाइब्रिड धान रोप्दा यहाँका किसान यस वर्ष मर्कामा परेको बताउँदै गाईभैसीको मल नहुदाँ उब्जनी कम भएको, रोग बढेको र माटोमा अम्लियपन भएर बिग्रिएको बताउनु भयो । कार्यक्रममा सहभागी रामगोपाल श्रेष्ठ, सबिता खत्री, अम्बिका खत्री, नानू गिरीलगायतले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अबस्था, समस्या, स्थानीय तहको प्रयास र उपलब्धीकाबारेमा आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको इन्सेकका सहजकर्ता राजु मग्रांतीले बताउनु भयो ।

रमेश गिरी