स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न

धनुषा । २०८० असोज २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा बटेश्वर गाउँपालिकामा मानव अधिकार समूहले समस्या पहिचान र कार्ययोजना निर्माण बैठक ०८० असोज २६ गते सम्पन्न गरेको छ । उक्त बैठकमा मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण र सबै प्रकारका विभेदसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानका लागि कार्ययोजना निर्माण गरेका छन् । शिक्षा तर्फ बटेश्वर गाउँपालिका भित्र रहेका विद्यालयहरूमा सबै विद्यार्थीको विद्यालय समयमा नियमित उपस्थिति नहुने, विद्यालयहरूमा शिक्षक दरबन्दीको अभाव, करारमा कार्यरत शिक्षकहरूले समयमा पारिश्रमिक नपाएको र व्यवस्थापन समितिहरूले समयसमयमा विद्यालय अनुगमन नगर्ने जस्ता समस्याहरूको पहिचान गरिएको छ । त्यस्तै, स्वास्थ्य तर्फ स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा नागरिक वडा पत्र नरहेको, स्वास्थ्य संस्थाहरूमा उचित सरसफाई, शुद्ध खानेपानी र कर्मचारीको अभाव रहेको साथै विद्यालयहरूका शौचालयहरू सफा र व्यवस्थित नरहेको, छात्रा विद्यार्थीहरूको लागी सेनिटरी प्याड बदल्ने छुट्टै कक्ष नरहेको र त्यस्को व्यवस्थापनसँग सम्बन्धित समस्याहरूको पहिचान गरिएको छ ।

  

त्यस्तै वातावरण अन्तर्गत अत्याधिक नदी दोहन र प्लास्टिकको प्रयोगमा वृद्धि भएको समस्या पहिचान गरिएको छ । साथै विभेद विरुद्धको हक अन्तर्गत कटारी टोलको दलित समुदाय बस्तिमा जातीय विभेदको समस्या, उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारमा पछाडि पारिएका समस्या पहिचान गरिएको छ । बटेश्वर गाउँपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण विभेदसँग सम्बन्धित समस्याहरूको समाधानका लागि स्थानीय सरकारसँग मागदावि गर्ने र समस्या समाधानका लागि स्थानीय सरकार, जिल्ला र प्रदेश तहमा पैरवी गर्ने योजना रहेको मानव अधिकार समूहको अध्यक्ष सुरज महत्तोले बताउनु भयो । बैठकको सहजिकरण इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले गर्नु भएको थियो ।

सन्तोष कुमार यादव