स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न
कैलाली । २०७९ जेठ १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदन प्रदान कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेकले स्थानीय निर्वाचन २०७९ अनुगमन तथा पर्यवेक्षण गर्दा प्राप्त सकारात्मक पक्ष, निर्वाचनका क्रममा मानव अधिकार तथा आचारसंहिता उल्लङ्घनका घटनाहरु प्रस्तृत गर्दै आगामि निर्वाचनमा निर्वाचन आयोग, राजनीतिक दल, पर्यवेक्षक तथा पर्यवेक्षण सस्था र सञ्चार जगतले सुधार गर्नु पर्ने पक्षका सन्दर्भमा सझुाव सहित प्रस्तृतिकरण गर्नु भएको थियो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते तुलनात्मक रुपमा भयरहित, शान्तिपूर्ण उत्साहाजनक वातावरणमा सम्पन्न भएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्तिसुरक्षालाई व्यवस्थित बनाई सात ओटा सुरक्षाकर्मीको मोबाइल टोली परिचालन गरिएको बताउनु भयो । प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले स्थानीय तह निर्वाचन २०७९ प्रर्यवेक्षण गर्ने संघसंस्था, राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकारलगायत सम्बन्धीत सबै सरोकारवालाहरुको सहयोग र सहकार्यमा वैशाख ३० गतेरुपमा शान्तिपुर्ण वातावरणमा सम्पन्न भएपनि निर्वाचन आयोगले सबैको सल्लाह सुझाव अनुसार आगामि दिनमा निष्पक्ष, मर्यादित र लोकतान्त्रिक पद्धतीमा निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले मौसम प्रतिकुल भएका कारण केही मतदानस्थलमा निर्वाचन प्रभावित भई केही समय ढिलो गरी निर्वाचन भएको र निर्वाचन भएको दिन वैशाख ३० गते निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरु नरोकिएकाले समग्रमा शान्ति सुरक्षा फितलो रहेको बताउनु भयो । नेकपा एमालेका जिल्ला कमिटिका सहसचिव लोकेन्द्र शाहीले स्वतन्त्र उम्मेदवारको मतदान चिन्ह् फरक फरक हुनु पर्ने र निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण दिएर मात्रै खटाउनु पर्ने बताउनु भयो । नियोगबाट प्रर्यवेक्षण कार्यमा सहभागि हुनु भएका धनपति ढुङ्गेलले धनगढी उपमहानगरपालिका—३ मा रहेको मतदानस्थललाई व्यवस्थित बनाइनु पर्ने र स्थानीय तह निर्वाचनमा पार्टीलाई रकम बुझाएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्थामा सुधार आउनु पर्ने बताउनु भयो । जियोगबाट पर्यवेक्षणमा सहभागि हुनु भएका नरेन्द्रबहादुर शाहले एउटै वडामा दुई ओटा मतदानस्थल भएको स्थानमा फरक फरक स्थलमा नामावली हुँदा नागरिकले मतदान गर्नबाट वञ्चिन हुनु परेकोले यसतर्फ निर्वाचन कार्यालयले ध्यान दिनु पर्ने बताउनु भयो । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले मतदानस्थलमा स्वयमसेवकको व्यवस्थापन, प्रर्यवेक्षण गर्ने संघसंस्थाको मोबाइल टोली बढाउनु पर्ने र मतदान केन्द्र अपाङ्गमैत्री बनाइनु पर्ने सुझाव दिनु भयो । सर्वाङ्गीर्ण अपाङ्ग विकासका प्रमुख नन्दराज भट्टले कुनै पनि मदान केन्द्र अपाङ्गमैत्री नभएकाले होचो भएका व्यक्तिलाई साङ्केतिक भाषा तथा ब्रेललिपिमा मतपत्रको व्यवस्था नभएकोले मतदान गर्न समस्या भएको गुनासो गर्नु भयो ।
मैनामोती चौधरी