स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न
सिन्धुली । २०८१ जेठ २० गते
कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र स्वाधीन पत्रिकाको सहकार्यमा जेठ २० गते कमलामाई नगरपालिकामा स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कार्साङ लामाले जिल्लाका सबै स्थानीय तहमा मानव अधिकार कार्ययोजना अनुगमन संयन्त्र गठन गरी मानव अधिकारका १७ ओटै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा इन्सेकका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले स्थानीय जनताको अधिकार र सुशासनका लागि इन्सेकले अभियान नै सञ्चालन गर्दै आएको भन्दै जनतालाई पनि आफ्नो अधिकार प्राप्तिका साथै कर्तव्य पालनामा जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले समेटेका शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, वातावरण र दिगो विकासको विषयमा प्रष्ट पार्नुभएको थियो । इन्सेकका बरिष्ठ अधिकृत सम्झा श्रेष्ठले सङ्घीयता र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो । कमलामाई नगरपालिकाका नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा समन्वय उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाको १४ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वाधीन पत्रिकाका प्रकाशक रुद्र खड्काले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
नविनबाबु अधिकारी