स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न
कैलाली । २०७९ कात्तिक १५ गते
राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश निर्वाचन कार्यालय र इन्सेकको संयुक्त आयोजनामा स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिवद्धता अन्तरसम्वाद कार्यक्रम कात्तिक १५ गते धनगढीमा सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि पत्रकार, राजनीतिक दल, पर्यवेक्षण गर्ने संघसंस्थालगायत सरोकारवाला निकायहरुले निष्पक्ष रुपमा आचार संहिताको पालना गरी जिम्मेवारी वहन गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको उजुरी आएको अवस्थामा कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने र प्रहरी प्रशासन तथा निर्वाचन आयोग मिलेर निर्वाचन आचार संहिताको कार्यान्वयन गराई शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता जाहेर गर्नु भयो । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरीप्रसाद ज्ञवालीले निर्वाचन हुनु पुर्व, निर्वाचनको समय र निर्वाचन सम्पन्न भइसकेपछि पनि राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष र स्वतन्त्र रुपमा अनुगमन गर्ने बताउनु भयो ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दलको ठुलो भुमिका हुनु पर्ने र मत बदरको न्युनिकरणकका लागि पत्रकार, राजनीतिक दल, प्रर्यवेक्षण गर्ने संघसंस्थाहरुको सहकार्यमा नमुना मतदानको आवश्यकता रहेको बताउनु भयो । नेकपा एमालेका नेता रणबहादुर चन्दले निर्वाचन आचार संहिता उल्लङ्घन भए नभएको राज्यको निकायले अनुगमन गरी राजनीतिक दललाई सचेत गर्नु पर्ने र मिडियाकर्मीहरुले समान रुपमा सबै उम्मेदवारहरुलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नु पर्ने बताउनु भयो । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष माधव थारुले उम्मेदवारका विरुद्ध उजुरी दिने व्यक्तिहरुको नाम सार्वजनिक गर्दा द्धन्द्ध उत्पन्न हुने भएकोले निर्वाचन कार्यालयले गोपनियतामा ध्यान दिन अवाश्यक रहेको बताउनु भयो । कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विगतका निर्वाचनमा देखिएका समस्या तथा चुनौती र आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन सम्बन्धीत निकायहरुलाई सुझाव सहित प्रस्तुती गर्नु भएको थियो ।
मैनामोती चौधरी