स्वदेशी उत्पादन संरक्षण र निष्पक्ष बजार अनुगमनमा सभामुख यादवको जोड

धनुषा । २०८३ असोज १३ गते

मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले स्वदेशी उत्पादनको संरक्षण तथा प्रवर्धनसँगै बजार अनुगमनलाई समान, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ।

जनकपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको समन्वयमा ०८३ असोज १३ गते जनकपुरधाममा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी अन्तरक्रियामा उहाँले व्यवसायीको अधिकारसँगै उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकारलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

सभामुख यादवले स्वदेशी उत्पादनमा बढी अनुगमन हुने र आयातित वस्तुमा तुलनात्मक रूपमा कम अनुगमन हुने अवस्थाप्रति ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। अनुगमन आवश्यक भए पनि त्यसको सूचना चुहिने तथा गोपनीयता भङ्ग हुने अवस्था अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका उपसचिव जीवन न्यौपानेले व्यवसाय सञ्चालनका क्रममा मानव अधिकारमा पर्नसक्ने प्रभाव, राज्यको दायित्व, श्रमिक तथा उपभोक्ता अधिकार र व्यवसायीको जिम्मेवारीबारे प्रस्तुतीकरण गर्नुभयो।

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले व्यवसायीका समस्या र व्यवसायसँग सम्बन्धित सवालमा सरोकारवाला निकायबीच नियमित संवाद आवश्यक रहेको बताउनुभयो। व्यवसायीले उपभोक्ता, श्रमिक र समुदायका अधिकारप्रति समेत उत्तरदायी हुनुपर्ने उहाँको भनाइ थियो।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले श्रमिक, उपभोक्ता, समुदाय तथा वातावरणमा व्यवसायबाट पर्नसक्ने प्रभावप्रति व्यवसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रमुख विमलकुमार दाहालले खाद्य वस्तुको गुणस्तर कायम गर्न नियमित अनुगमन भइरहेको जानकारी दिँदै व्यवसायीलाई गुणस्तरीय सामग्री मात्र बिक्री गर्न आग्रह गर्नुभयो।

औषधि व्यवसाय सङ्घ धनुषाका अध्यक्ष प्रमोद अग्रवालले आफूहरू पहिले मानव र त्यसपछि मात्र व्यवसायी भएको बताउनुभयो। अनलाइन माध्यमबाट औषधिसम्बन्धी गलत विज्ञापन तथा प्रचार भइरहेको उल्लेख गर्दै उहाँले त्यसको नियमनमा राज्यका निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

मधेस प्रदेश मिडिया काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष तथा सञ्चारकर्मी कैलाश दासले बजार अनुगमनमा मानव अधिकारकर्मीको सहभागिता गराउँदा प्रक्रिया थप प्रभावकारी हुनसक्ने बताउनुभयो। जनकपुरधाम आउने बाह्य पर्यटकप्रति व्यवसायीको व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले पर्यटकमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा औषधिको अनलाइन विज्ञापन, बजार अनुगमनमा मानव अधिकारकर्मीको सहभागिता, पर्यटकमैत्री व्यवसाय तथा इँटा उद्योगका कारण खेतीयोग्य जमिनमा परेको असरलगायत विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा व्यवसायी, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

सन्तोष कुमार यादव