स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन माग

सुर्खेत । २०७७ कात्तिक २५ गते

 

लेकवेशी नपामा कार्यरत स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २४ गते लेकवेशी नपा–९ साटाखानीमा सम्पन्न स्वास्थ्यको अधिकार विषयक सरोकारवालाहरूसँगको अन्तरक्रियामा सहभागीहरूले सो कुराको माग गरेका हुन् । कार्यक्रममा सहभागीहरूले समाज सेवामा समर्पित स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा दिनुपर्ने,  ०७६ चैत देखि सञ्चालनमा आएको एम्बुलेन्स सेवा सबै वडाका नागरिकहरूले उपभोग गर्नबाट बञ्चित हुनु परेको, मलेरिया र टिबी रोगको उच्च जोखिममा रहेको साटाखानीका बासिन्दाले समयमै र प्रयाप्त औषधि नपाएको तथा गाउँघर क्ल्नििक सञ्चालनको लागि भवन नभएको जस्ता समस्याहरु औंल्याएका थिए ।

लेकवेशी नपाका सामुदायिक विद्यालयहरूमा २ वर्षदेखि जुकाको औषधि नपठाएको र साउन महिना यता सुत्केरी भत्ता समेत उपलब्ध नगराएको गुनासो पोखेको इन्सेक सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनुभयो । लेकवेशी नपा–९ का अध्यक्ष मानबहादुर खडलुकको प्रमुख आतिथ्यता तथा मानव अधिकार समूहका सदस्य गीता चपाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि,  स्वयसेविकाहरू, शिक्षक र टोल विकास समितिका सदस्यहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा