स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट । २०७८ भदौ ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिका-९ को हलमा स्वास्थ्य अधिकारको विषयमा सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी डुमरीयाका डा. नरेशकुमार साहले स्वास्थ्य चौकीको भौतिक अवस्था र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सेवाग्राही पुलकलियादेवी रामले बुहारीलाई सुत्केरी गराउन लैजाँदा सेवा उपलब्ध नभएको बताएपछि अन्य ठाउँमा लैजानु पर्दा दुःख पाएको बताउनुभयो । त्यसैगरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य जितेन्द्र चौधरीले एमबिबिएस डाक्टरलगायत आवश्यक मेसिन उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।

सेवाग्राही मुस्लिम खातुनले औषधिहरु नपाउने, उपचार गर्न आउँदा राम्रोसँग नहेरेको र सेवादिने व्यक्तिहरुबाट गुणस्तरीय सेवा नपाएको आरोप लगाउनु भयो । वडाअध्यक्ष गोविन्दप्रसाद दुलालले आउने दिनहरुमा स्वास्थ्य कार्यालय भवन व्यवस्थित बनाउने, दक्ष कर्मचारीहरु उपलब्ध गराउने, स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने लगायत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोपिला तिमल्सिना