स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०७७ असोज २७ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २६ गते रूपा गाउँपालिका–५ मा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ५ मा रहेको देउराली स्वास्थ्य चौकीले गर्ने सेवा प्रवाह, समस्या, चुनौती र समाधानमा विषयमा छलफल भएको थियो । कार्यक्रमा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका चुना क्षेत्रीले आफू अझैपनि पुरानै उपचार पद्धति र तालिममा आधारित रहेर सेवा दिइरहनुपरेको बताउँदै अहिलेको परिवेशमा तालिमहरूको खाँचो रहेको औल्याउनुभयो । स्वास्थ्य स्वयंसेविका लक्ष्मी श्रेष्ठले आफूले महिला स्वास्थ्य सेविका बनेको आठ महिना बितिसक्दा पनि आवश्यक तालिम नपाएको गुनासो गर्नुभयो । ‘आठ महिना भैसक्यो तर अहिलेसम्म साधारण तालिम पनि प्राप्त गरेकी छैन, सेवा चाँही दिइरहेकी छु’,–उहाँ भन्नुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले स्वास्थ्य सेविकाहरूलाई तालिमको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘म आएको धेरै भएको छ मात्रै एक महिना भयो समस्या पहिचान गर्दै समाधानको प्रयास गर्नेछु ,कोटा मिल्ने सम्म दिने व्यवस्था गर्नेछु’,–उहाँले भन्नुभयो । कार्यक्रमका सहभागी भएका स्थानीय बाबुलाल श्रेष्ठले स्वास्थ्यचौकीमा निःशुल्क प्राप्त गर्ने औषधी के–के हुन् र के–के छन् भन्ने बारेमा नागरिकहरूलाई थाहा नभएको बताउनुभयो । स्वास्थ्य चौकीमा खोपहरूको उपलब्धता नहुँदा सेवाग्राही फर्कुनपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । कार्यक्रममा देउराली स्वास्थ्य चौकी व्यवस्थापन समिति प्रमुख तथा वडा सदस्य राजन खनालले निःशुल्क औषधीहरू उपलब्ध गराउन सक्नेसम्म सबै औषधी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा भएका कमजोरीलई नागरिक स्तरबाट औल्याइ समय समयमा सुधारका लागी सुझाव दिइरहन आग्रह गर्नुभयो ।

यसका साथै कार्यक्रममा बोल्दै रूपा गाउँपालिकाको वडा नं ५ का वडाअध्यक्ष टेक बहादुरले आफू वडाध्यक्ष हुनुभन्दा अगाडि इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहको संयोजक रहेर मानव अधिकारका सवालमा काम गर्ने अवसर जुरेको बताउँदै नागरिकहरूको अधिकार प्राप्तिका सवालमा इन्सकेको क्रियाशिलता प्रशंसा योग्य रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खाद्य  र आवासका सवालमा इन्सेकसँग सहकार्य गर्दै नागरिकहरूको अधिकार सुनिश्चित गराउन सदैव तयार रहेको बताउनुभयो ।

सुशन घिमिरे