स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

कञ्चनपुर । २०७८ भदौ २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भदौ २० गते कृष्णपुर नगरपालिकामा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–१ निगालीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा  प्रसूति गृह सञ्चालनका लागि भवन निर्माण गरिएको भएपनि नगरपालिकाले प्रयाप्त बजेट बिनियोजन नगरेका कारण सञ्चालनमा समस्या भएको सामुदायिक स्वास्थ्य इकाईका प्रमुख आशा भण्डारीले बताउनु भयो ।

सरकारले जिरो होम डेलीभरी नारा लगाएको भएपनि प्रसूति केन्द्र व्यवस्थित नहुँदा अहिले पनि घरमै बच्चाहरुको जन्म भइरहेको उहाँले बताउनु भयो । महिला स्वास्थ्य स्वयमसेविका डम्बरी पाठकले सरकारले कोभिड माहामारीका समयमा स्वास्थ्य स्वयमसेविकालाई मास्क, सेनिटइजर समेत उपलब्ध नगराएको बताउनु भयो । निगाली स्वास्थ्य इकाई व्यवस्थापन समितिका सदस्य लालबहादुर ऐरीले नगरपालिकाले स्वास्थ्यकर्मीहरु छनौटका लागि बिज्ञापन आवाह्न गरेर छोटोसूची प्रकाशन गरेको लामो समय भई सक्दा समेत प्रक्रिया अगाडी नबढाउँदा स्वास्थ्यकर्मी अभाव रहेको बताउनु भयो ।

कृष्णपुर नगरपालिका–१ का अध्यक्ष मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्थाको अवस्था दयनिय भएको कारण सुत्केरी हुन नसकेर गर्भवती तथा नवजात शिशुहरुको अकालमै मृत्यु हुने गरेकोले प्रसूति सेवा सञ्चालनका लागि पहल भइरहेको बताउनु भयो । मानव अधिकार समुहका संयोजक जयलाल साउदले नेपाल सरकारले सामुदायिक स्वास्थ्य इकाईमार्फत निशुल्क रुपमा वितरण गरिने औषधि तथा सेवाहरुको नामावली नेपालीमा लेखेर स्वास्थ्य संस्थामा टास्न गर्न आग्रह गर्नु भयो ।

लिली कुँवर