








कपिलवस्तु। २०७८ भदौ २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भदौ २५ गते वाणगङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य अधिकारको बिषयमा भएको संवैधानिक व्यवस्था, वाणगङ्गा नगरपालिको स्वास्थ्यको अवस्था र कोभिड–१९ ले पारेको असर लगायतका विषयमा वाणगङ्गा नपाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आधार पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उप मेयर चक्रपाणी अर्यालले इन्सेक र मानव अधिकार समूहले वडाहरूका विभिन्न टोलहरूमा गएर देखिएका समस्याहरू उजागर गरेको बताउनु भयो ।
अर्यालले बाढीले विभिन्न स्वास्थ्य चौकीहरूमा पुर्याएको क्षतिको नगरपालिकाले केही स्वास्थ्य चौकीको क्षतिपूर्ति गरेको र केही स्वास्थ्य चौकीका लागि पहल गरिएको बताउनु भयो । गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोणप्रसाद बेल्वासेले कोभिड–१९ ले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको बताउदै जोखिमको समयमा स्वास्थ्यकर्मीहरू सक्रिय भएर सेवा प्रदान गरेको बताउनु भयो । बेल्वासेले जनसङ्ख्याको वृद्धि भएपनि महिला स्वास्थ्य स्वयंसेविकाहरूको सङ्ख्या नबढाउँदा काम गर्न कठिनाई भएको बताउनु भयो ।
मोतीपुर स्वास्थ्य चौकीका इन्चार्ज हेमराज घिमिरेले स्वास्थ्यकर्मीहरु जोखिमका र दवाब मोलेर काम गरेको बताउदै कोभिड १९ विरूद्धको खोप लक्षित समूहले नपाएको बताउनु भयो । पटना स्वास्थ्य चौकीका इन्चार्ज परशुराम थारुले स्वास्थ्यचौकी अपाङ्ग मैत्री भएपनि शौचालय अपाङ्ग मैत्री नभएको, डीपो, कुष्ठ रोग लगायतका आवश्यक औषधि समयमा उपलब्ध हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको बताउनु भयो ।
नागरिक समाजका जिल्ला अध्यक्ष तथा मानव अधिकार रक्षक सञ्जालका संयोजक दोलखबहादुर पछाईले सेवाग्राहीहरूलाई छिटो छरितो सेवा दिन सके मात्र नागरिकहरूले अधिकारको अनुभूति गर्ने बताउनु भयो । कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, नागरिक समाज, मानव अधिकार समूहका पदाधिकारीहरू, आमा समूह, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
पार्वती आचार्य