स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

चितवन । २०७८ असोज २० गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेशको सहयोग र नगरपालिका स्तरिय मानव अधिकार समूहको आयोजनामा खैरहनी नगरपालिकाकामा असोज १९ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर २ मा रहेको स्वास्थ्य चौकीका प्रमुख निर्मल घिमिरेले नगरभित्र स्वास्थ्यका क्षेत्रमा केही सुधार आएको भए पनि अझै कतिपय कमिकमजोरीका कारण काम गर्ने कर्मचारीहरू तथा सेव लिने सेवाग्राहीहरूलाई असहज भइरहेको बताउनुभयो । उहाँले रोग लागिसकेपछिको भन्दा पनि रोकथाम र लाग्न नदिने विषयलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएकोले प्रिभेन्टिभ र प्रोमोटिङलाई जोड दिइएको बताउनु भयो । कोभिडको खोपको समयमा स्वास्थ्यकर्मी सुरक्षाको सवालमा पनि नगर गम्भीर बन्न वडा नम्वर ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी सुस्मा विकले ध्यानाकर्षण गराउनुभएको थियो । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी समस्यालाई समाधान तर्फ अगाडि बढ्दै जाने वडा नम्बर १ का वडाध्यक्ष भूमिप्रसाद कँडेलले प्रतिबद्धता जनाउनु भएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्य बिमाका अभिकर्ता मातृका बुढाथोकीले अझै पनि जनचेतनाको कमीका कारण स्वास्थ्य बिमा कार्यक्रममा तल्लो तह सहभागी हुन नसकेको बताउनु भयो । उहाँले बिमा गर्नको लागि लाग्ने सामान्य रकम पनि तिर्न नसक्ने आर्थिक अवस्थाका कारण निम्न वर्गकाहरूले बिमा कार्यक्रममा सहभागिता जनाउन नसकेको कार्यक्रममा जानकारी गराउनु भएको थियो । वडाध्यक्ष कँडेलले त्यस किसिमका गरिब निम्न वर्गीय जसले बिमा रकम तिर्न सक्दैनन् उनीहरूको बिमा रकम तिर्न वडा र नगरपालिका तयार रहेको प्रष्टाउनुभयो । उहाँले नगरपालिकाभित्र अहिले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना भाइसकेकोले त्याहाँबाट उपलब्ध हुने सेवा लिन जनता आफै पनि सचेत हुनुपर्ने धारणा राख्नु भयो । पर्याप्त श्रोत साधनको नभएका कारण विद्यालय नर्सलाई पनि काम गर्न केही असहज भइरहेको विद्यालय नर्स सुस्मिता पाठकले बताउनुभयो ।

दिपेन्द्र अधिकारी