स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सप्तरी । २०७८ असोज २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा राजविराज नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत राजविराज नगरपालिकामा स्वास्थ्यका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको स्वास्थ्यको क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सरोकारवाला निकायका सहभागीहरूले नगरपालिकाभित्र स्वास्थ्यको अधिकारमा देखिएका समस्याहरुको चर्चा गर्दै समाधानमा स्थानीय सरकारको भूमिकामाथि प्रश्नहरू उठाएपछि यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले स्वास्थ्य चौकीमा निःशुल्क पाउने औषधि विवरणसहितको होर्डिङ बोर्ड प्रत्येक वडा कार्यालयहरूमा राख्ने, कोभिड–१९ को खोपलगायत स्वास्थ्य सेवाका बारेमा प्रचार गर्ने, स्वास्थ्य बिमा सहयोगी र स्वास्थ्य चौकी प्रमुखहरूको कामको निगरानी बढाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले आर्थिक वर्षमा सशर्त र निशर्त कार्यक्रम सुरू नभएको, गत वर्षभन्दा बजेट कटौती भएकोले स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याउन नसकेको र साधनश्रोतको कमी रहेको समस्याबारे जानकारी गराउनु भयो ।
पत्रकार दिनानाथ यादवले निःशुल्क औषधिबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने र बजारको अनुगमन नियमित हुनुपर्ने बताउनु भयो ।महिला स्वयम्सेविका कमली उपाध्यायले वडा नम्बर ४ र ५ बाहेक अन्य १४ ओटा वडामा वडा अध्यक्षहरूले प्रकृया विपरीत अन्य मानिसलाई स्वास्थ्य बिमा सहयोगी राखेकाले कार्यक्रम तल्लो तहसम्म प्रभावकारी हुन नसकेको आरोप लगाउनु भयो । स्वयम्सेविका निर्मला पोखरेलले गर्भवती, सुत्केरीका लागि छुट्याइएको ६० हजार रुपियाँ र महिला स्वयम्सेविका कोषको रकम खोजी गरिदिन आग्रह गर्नुभयो ।
अनलाइन डेस्क