स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ । २०७८ मङ्सिर २४ गते

अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा ०७८ मङ्सिर २३ गते बन्दिपुर गाउँपालिका२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र कार्यान्वयको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरू बनाएको बताउनुभयो ।

सबै वडाहरूमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापनास्वास्थ्य केन्द्रहरूमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धतागण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पतालनिःशुल्क औषधिहरू पर्याप्त मात्रामा वितरण तथा कोभिड सङ्क्रमितको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आइसोलेशन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको उहाँले बताउनुभयो । जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिति निकै कम हुने गरेको उहाँको भनाइ थियो ।

स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेवार नागरिकले कमी कमजोरीहरू सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाडै समाधान हुने उहाँको भनाइ थियो । निःशुल्क वितरण गर्ने औषधि खरिद प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल गुरुङव्यवस्थापन समिति सदस्य राधिका खनालश्रीप्रसाद पौडेल लगायतले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रका इञ्चार्ज अहेब अर्जुन गुरुङले सो स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार उक्त स्वास्थ्य चौकीमा दैनिक सरदर १५ जना बिरामीहरू स्वास्थ्य परीक्षणकोलागि आउने गरेका छन् । गाउँपालिकाले अर्को कर्मचारीको व्यवस्थापन नगरेको हुँदा आफू एक्लैले स्वास्थ्य संस्था धान्नु परेको र गत वर्ष उपलब्ध गराइएको सिटामोल सकिएको कारण अहिले निःशुल्क रूपमा सिटामोल उपलब्ध गराउन नसकिएको उहाँको भनाइ थियो ।

प्रकाशचन्द्र भट्टराई