स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ माघ ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूहको सहकार्यमा माघ १० गते मिथिला नगरपालिकामा स्वास्थ्यसम्बन्धी सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सरोकारवालाले स्वास्थ्य संस्थामा निःशुल्क मास्क, सेनिटरी प्याडलगायत नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका औषधि उपलब्ध गराउनु पर्ने माग गरेका छन् । महिला अधिकारकर्मी विना कडारीले स्वास्थ्यसंस्थाहरूमा कण्डम, पिल्स चक्की निःशुल्क दिइन्छ तर महिलाहरूको लागि निःशुल्क प्याडको व्यवस्था नभएको आरोप लगाउनु भयो । यसप्रति नगरपालिका सचेत हुनुपर्ने भन्दै कम्तीमा विद्यालय र स्वास्थ्य संस्थाहरूमा साबुन, पानीसहितको शौचालय र प्याड हुनुपर्नेमा उहाँको जोड रहेको छ ।
बाल क्वलका अध्यक्ष दिवेशकुमार महतोले घुम्ती शिविरमार्फत भएपनि विद्यार्थीहरूको स्वास्थ्य चेकजाँचको व्यवस्था हुनुपर्ने माग गर्नु भयो । मिथिला नगरपालिकाले विद्यालय स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको भएपनि विद्यार्थीहरूले यसको लाभ लिन नसकेको उहाँको भनाइ छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले मिथिला नगरपालिकाका ११ ओटा वडामध्ये १३ ओटा स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह गर्दै आएको बताउनु भयो । सर्वसाधारणको स्वास्थ्य सेवामा सहज पहुँचका लागि नियमित रूपमा स्वास्थ्य सामग्री, औषधिहरू स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनु भयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले कोभिड–१९को तेश्रो लहरले जनजीवन प्रभावित भइरहेको बेलामा नगरपालिकाले समेत यसको प्रतिकार र सुरक्षा मापदण्डका उपायहरू अपनाउन जरुरी रहेको बताउनु भयो । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा मिथिला नगरपालिका गम्भीर रहेको बताउनु भयो ।
नगरपालिकाले स्वास्थ्य संस्थाहरूमा सेवा प्रदान बाहेक घुम्ती स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण, नगरपालिकाभरका मानसिक रोगीहरूको लागि स्वास्थ्य सेवालगायतको कार्यक्रम लागु गरको प्रमुख महतोले बताउनु भयो । उहाँले सर्वसाधारणको स्वास्थ्यसेवामा सहज पहुँचका लागि ढल्केवरमै बर्थिङ सेन्टर, सुरक्षित गर्भपतन सेवालगायतका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह