स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

सप्तरी । २०७८ फागुन २८ गते

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको छ । विष्णुपुर गाउँपालिका–६ स्थित रूद्रनारायण माध्यमिक विद्यालय गोरगामा रञ्जितपुरमा मधेश प्रदेश जनकपुरधाम, धनुषाको आयोजनामा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण रायले जनताको मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन नहुने बताउनु भयो ।

यसैगरी विद्यालयका प्राधानाध्यापक तेजनारायण यादवले स्वास्थ्य र शिक्षाबिच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले सरोकारवालाले स्वास्थ्य र शिक्षामा पर्याप्त ध्यान दिनु पर्ने बताउनु भयो । विष्णुपुर गाउँपालिकाका स्वास्थ्य सह–संयोजक अनिताकुमारी यादवले बालबालिकाले स्वास्थ्य तथा शिक्षा दुवै निःशुल्क पाउनु पर्ने बताउनु भयो । विष्णुपुर गाउँपालिका–६ का वडा सदस्य रामकुमार राय, शिक्षक मनोजकुमार यादव, सञ्चारकर्मी दिनानाथ यादव, विद्यालयका छात्र, छात्रा, मानव अधिकार निगरानी समूहका सदस्य लगायतले स्वास्थ्य, शिक्षा अनिवार्य र सहज रूपमा उपलब्ध हुनु पर्ने माग गर्नु भयो ।

 

मनोहरकुमार पोखरेल