स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न
दाङ । २०७८ असोज ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूहको आयोजनामा घोराही उप–महानगरपालिका–१७ मा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले वडाको एकमात्र सरकारी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह नागरिक मैत्री नभएको गुनासो सुनाएका थिए । स्थानीय हिमा घर्तीले स्वास्थ्य केन्द्रमा आगोले पोलेको घाउमा लगाउने मलम नपाइएको, तीन महिने सुई कार्यालय सहयोगीले लगाइदिने गरेको, कर्मचारीले सेवाग्राही आउदा झर्किने, हप्काउनेजस्ता व्यवहार गरेको गुनासो गर्नुभयो । स्थानीयहरूले स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्मचारीहरूले आफन्तहरूलाई कोभिड विरूद्धको खोप लगाइदिएको तर आफूहरूले नपाएको गुनासो गर्दै ४० वर्ष उमेर समूहका व्यक्तिहरूका लागि कोभिड खोप कहिले आउछ ? भन्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूलाई प्रश्न गरेका थिए ।
घोराही उप–महानगरपालिका–१७ का अध्यक्ष खुशीराम चौधरीले नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउनकै लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको र जनशक्ति र आर्थिक अभावले सोचेजस्तो सेवा प्रवाहमा समस्या आएको बताउनुभयो । तर कोभिडको खोप आफन्तहरूलाई लगाइएको आरोप गलत भएको बताउनु भयो । उहाँले अन्य उमेर समूहका लागि पनि छिट्टै खोप आउने भन्दै धैर्य गरेर बस्न आग्रह गर्नुभयो । हरिद्धार शहरी स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सिअनमी कल्पना शर्माले स्रोत साधन र जनशक्तिले भ्याएसम्म सेवा प्रवाह गरेको र औषधि सकिएका बेला आएका सेवाग्राहीलाई फिर्ता पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो । सेवाग्रहीबाट आएका गुनासोहरूलाई मनन गर्दै सेवालाई थप नागरिक मैत्री बनाउने प्रतिबद्धता शर्माले जनाउनु भयो ।
जयनारायण पुन