स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा प्रति जन विश्वास जगाउनु पर्नेमा जोड
बर्दिया । २०७८ भदौ २९ गते
सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा प्रति आम नागरिकको जिन विश्वास जगाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा भदौ २८ गते बासगढी नपा– ५ मा आयोजित स्वास्थ्यको अधिकारको सम्बन्धी सरोकारवालाबिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा स्वास्थ्य शाखाकी प्रमुख गीता घिमिरेले सरकारले संविधानको मौलिक हकको रुपमा व्यवस्था गरेको स्वास्थ्यको अधिकार प्रति प्रतिबद्ध रही सोही अनुसार योजनाबद्ध तरिकाले सेवा दिइरहेको बताउनु भयो । उहाँले आम नागरिक सरकारी स्वास्थ्य सेवा उपभोग गर्नु भन्दा निजि तर्फ आकर्षित भइरहेको बताउदै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा सुविधा लिन आम नागरिकको विश्वास जगाउनु पर्ने बताउनु भयो ।
सरकारले जुन उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार, साधन स्रोत मानव संसोधन गरी दिइरहेको सेवामा गुणस्तर रहेको बताउदै सबै नागरिकहरूले विश्वासका साथ सेवा लिन आग्रह गर्नु भयो । घिमिरेले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चत गर्नका लागि बाँसगढी नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, खोप केन्द्र, सुत्केरी गृह पनि चार ठाउँमा स्थापना भएकोमा दुई वटा स्वास्थ्य चौकीबाट सेवा पनि दिइरहेको बताउनु भयो । बाँसगढी नगरपालिका सामाजिक बिकास समितिका संयोजक तुलषीप्रसाद गौतमले बाँसगढी नगरपालिकाको स्वास्थ्य सेवालाई सबै स्तरका नागरिकले विश्वासका सेवा लिने वातावरण बनाउन बिशेष बजेटका साथ आवश्यक निर्णय गर्न छलफल चलाउने बताउनु भयो । मानवअधिकार निगरानी समूहकी सदस्य गंगा थारुको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुबाट स्वास्थ्य विमाको बारेमा केही जानकारी नभएको, विमितले सेवा लिन जाँदा बेवास्ता गर्दा कठिनाई भएको, प्रयाप्त मात्रामा औषधि नपाउने गरेको लगायतका गुनासो राखेका थिए ।
मानबहादुर चौधरी