हिंसा मुक्त समाज बनाउन प्रतिबद्ध छौं : अध्यक्ष ओझा
कास्की । २०७८ मङ्सिर २३ गते
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिका भित्र कुनै पनि हिंसा हुन नदिने दायित्व आफूहरूको रहेको बताउँदै हिंसा मुक्त समाज बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर २२ गते रुपा गाउँपालिकामा सम्पन्न गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र रुपा गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम चन्द्रप्रभा माविको सभा हलमा सम्पन्न गरिएको छ ।
अधिकारका क्षेत्रमा काम गर्ने नागरिक संघसंस्थाहरुसंगको समन्वयमा स्थानिय सरकारले अभियान संचालन गर्ने र सहकार्य गर्दै अगाडी बढ्न सकेमा उपलब्धि हासिल गर्न सकिने अध्यक्ष ओझाले बताउनुभयो । अधिकार र कर्तव्यबोध गर्न सकेमा हिंसा न्युनिकरण हुने उहाँको भनाइ थियो । सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले सामाजिक विकास कार्यालयको वार्षिक नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउदै प्रस्तुति दिनुभएको थियो । उहाँले कार्यालयले शिक्षा, विज्ञान, महिला, बालबलिका तथा जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो ।
सबैको साझा प्रयासबाट मात्रै हिंसा न्यूनिकरण गर्न सकिने बताउँदै सबैले आआफ्नो घरबाट हिंसा न्यूनिकरणमा भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले न्यायिक समिति र वडाहरुको समन्वयमा महिला हिंसा न्युनिकरणका अभियानहरु सञ्चालन भइरहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा भित्र पनि महिला हिंसा बढिरहेको भन्दै पालिका हिंसा न्यूनिकरणका लागि प्रयासरत रहेको बताउनुभयो । यस्ता अभियानले हिंसा न्यूनिकरणमा भूमिका खेल्ने बताउँदै निश्चित समय मात्रै नभइ दैनिक रुपमा हिंसाका विरुद्धमा आवाज उठाउन आवश्यक रहेको उहाँको भनाई थियो । नागरिकहरुका कानुनी सचेतनाको अभावका कारणपनि हिंसा बढेको उहाँले बताउनुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले लैङ्गिक हिंसा र कानुनी उपचारको बारेमा र इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले महिला हिंसा र महिला अधिकारको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सुशन घिमिरे