हिंसा र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्छ : अध्यक्ष थापा

स्याङ्जा । २०७७ मङ्सिर २७ गते

 

हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने पुतलीबजार नगरपालिकामा गठन भएको मानव अधिकार समूहकी अध्यक्ष तारक बहादुर थापाले भन्नुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र  सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको कार्यक्रम अन्तरगत जातीय विभेद तथा कोभिड–१९ ले महिलामा पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथिले सो कुरा भन्नुभएको छ । उहाँले हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना सहभागी भएर सकारात्मक सोच्नुपर्ने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा अधिवक्ता प्रकाश अर्यालले विभेदका प्रकार तथा कोभिड–१९ ले महिलामा पारेको असरका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिल बहादुर राणाले अन्तरजातीय विवाह हुँदा दलितमाथि बढी हिंसा भएको कुरा बताउनुभयो । उहाँले समुदायमा छुवाछुत बढी रहेको धारणापनि राख्नुभयो । तमु समाजका अध्यक्ष तथा अधिवक्ता युग नारायण श्रेष्ठले घरमै बढी हिंसा भएको कुरा बताउनुभयो । उहाँले स्याङ्जामा कोभिड १९ को सङ्क्रमण तिब्र गतिमा बढेको र यसको नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पुतलीबजार नगरपालिकाका नगर स्वास्थ प्रमुख विष्णु काफ्लेले नागरिकको स्वास्थ्यकालागि पुतलीबजार नगरपालिका टोलटोलमा, घरघरमा पुगेको र  कोभिड–१९ का सङ्क्रमितहरूलाई पनि उचित आइसोलेशनको व्यवस्था गरेको जानकारी दिनुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी प्रतिनिधि तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तारा शर्माले दलित समुदाय भित्रपनि छुवाछुत बढी भएको कुरा बताउनुभयो । दलितमा पनि आफ्नै तहकोमा छुवाछुत रहेको छ । उहाँले महिलाहरू आफ्नै छिमेकी, नातेदार र नजिका व्यक्तिहरूबाट हिंसामा पर्ने र यसको न्यूनीकरणमा सबैजना लाग्नुपर्ने कुरा बताउनुभयो । नेपाली काग्रेस प्रतिनिधि पृथ्वी पोख्रेलले कोभिड–१९ ले हिंसा मात्रै नल्याइ व्यक्तिलाई आत्मनिर्भरता तर्फ पनि अगाडि बढेको पाइएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ढोब बहादुर कार्कीले हामी कतिको अनुशासित छौ अनि हाम्रो आचरण कस्तो छ यो बुझ्नु आवश्यक भएको कुरा बताउनुभयो । उहाँले दलित समुदायमा कार्यक्रम गर्दा मात्रै समस्या समाधान होइन अगुवाई गर्ने अगुवाहरू ले सकारात्मक विचार र चेतनाको विकास गराउनु आवश्यक हुन्छ भन्दै बेद जस्ता उपनिषद्हरू लेखिदा पनि पुरूष मैत्री भएको र महिला मैत्री नभएको बताउनुभयो । महिलाहरूले प्राप्त गरेका अधिकारहरू महिला आफैले सङ्घर्ष गरेर पाएको हो र यसमा धेरै अग्रज महिलाहरूको योगदान रहेको उनको भनाइ थियो ।

तिलकुमारी थापा