१ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

सप्तरी । २०७९ फागुन २५ गते

इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ–संस्थाले “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ फागुन २४ गते राजविराजमा र्‍याली तथा विचार आदानप्रदान कार्यक्रम गरेका छन् । राजविराज नगरपालिकाको सहयोगमा इन्सेक, मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, सबल नेपाल, राजविराज जेसीज, प्राइम होलिक्रस एकेडेमी, नेपाल राष्ट्रिय मारवाडी महिला संगठन लगायत संघ–संस्थाले र्‍याली, गोष्ठी र अन्तक्रिया गरेर महिलामाथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले सचेतनाका साथै महिलाहरू आर्थिक रूपमा सबल र आत्मनिर्भर नभएसम्म विकास असम्भव रहेको बताउनु भयो । नहिंडेसम्म लक्ष्य प्राप्त नहुने भएकाले महिलाहरूलाई घरबाट निक्लिेर कार्यक्रमहरूमा सभागिता हुन उहाँले आग्रह गर्नुभयो । सबैले जीवनको एउटा उद्देश्य बनाउनु पर्ने र छोरीहरूलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्नेमा परविनले जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले महिलाको सहभागिता बढाउँदै र क्षमता अभिवृद्धि गर्दै सशक्त रूपमा अघि बढ्न आह्वान गर्नुभयो । महिला अघि बढेमा मात्र देश विकास हुने भन्दै उहाँले घरबाहिरको भूमिकामा महिलालाई सक्रिय हुन आग्रह गर्नुभयो ।

  

प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका विभिन्न निकायमा महिलाको पहुँच बढ्दै गएको र महिला अधिकारका विषयमा प्रहरी संवेदननशील रहेको बताउनु भयो ।
कामको समय, उचित ज्याला र मतदानको अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको ८ मार्चको इतिहास बारे जानकारी गराउनु हुँदै इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले महिलाहरूलाई समाज, राजनीति र आर्थिक क्षेत्रमा बराबरीमा ल्याउन हरेक क्षेत्रमा बराबरीको अधिकार र दायित्व दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । मेची महाकाली बुहारी संयुक्त आवाज सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला शिक्षक मञ्जु श्रेष्ठ, अधिकारकर्मी मालती चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, मारवाडी महिला मञ्चकी अध्यक्ष शारदा काबरा, परिकल्पना नेपालकी अध्यक्ष सुधा देब, मिलाफकी अध्यक्ष रमिला साह, पत्रकार दिनानाथ यादव, आदिवासी जनजाती पत्रकार महासंघकी प्रिया सिंह थारुले बाध्यकारी संवैधानिक व्यवस्थाले राजनीतिमा प्रतिनिधित्व गराउने मात्र नभई नीति निर्माण र नेतृत्वमा पु¥याउने वातावरण आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, मैथिली साहित्य परिषद्की मीना साह र उर्जा साहले गीत र कविता वाचन गर्नुभएको थियो । संयुक्त आवाजकी सचिव पुनम पोखरेलद्वारा सञ्चालिन कार्यक्रममा स्वागत कानुनी सल्लाहकार मनु खनालले गर्नुभएको थियो । कार्यक्रम अघि प्लेकार्डसहित निक्लेको र्‍यालीले विभिन्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको थियो ।

यस्तै सप्तरीको विभिन्न पालिकाहरूमा स्थानीय सरकार, विभिन्न संघसंस्था र राजनीतिक दलहरूले र्‍याली, सभा तथा विभिन्न कार्यक्रम गरी महिला दिवस मनाएका छन् । अमेरिकाको कपडा कारखानामा काम गर्ने महिलाले पहिलोपटक आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध गरेको प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा हरेक वर्ष मार्च ८ का दिन यो दिवस मनाइन्छ । जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव गर्नुभएको थियो । जसलाई सम्मेलनले पारित गर्‍यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसेको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । महिला दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिदै आएको छ ।

मनोहरकुमार पोखरेल