१ सय १३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा र्याली र अन्तरक्रिया कार्यक्रम समपन्न
सिरहा । २०७९ फागुन २५ गते
१ सय १३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते सिरहामा र्याली र अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । लहान नगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार संरक्षण केन्द्र संजाल, महिला मानवअधिकार रक्षक संजाल, ओरेक नेपाल, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनर्स्थापना केन्द्र, लगायतका संघसंस्थाहरूको समन्वयमा सिरहाको लहानमा र्याली र अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मूल नाराका साथ शुरु भएको दिवसको अन्तरक्रिया कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुुख रामचलितर महतोले महिलाहरुको हक हित र विकासका निम्ति राज्य र संघसंस्थाहरूले लगानी गरेको भए तापनि महिला माथि हुने हिंसामा कमी नआएको बताउनु भयो । आफू एक्लैले केही गर्न नसक्ने भएकोले उहाँले संघसंस्था, नागरिक समाज तथा सरोकारवाला निकायहरू सबैसँग साथ र सहयोगको आग्रह गर्नु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले नेपालका महिलाहरू कानूनी अधिकारले वञ्चित नरहेको बताउनु भयो । संविधान र कानूनमा पर्याप्त व्यवस्था भए पनि कार्यन्वयन पक्ष फितलो हुदा र व्यवहारमा लागु नहुदा महिलाहरू पछाडी परेको बताउनु भयो । निजामती सेवामा महिलाहरू आरक्षण र खुला प्रतिष्पर्धाबाट आउने हुनाले अब महिलाहरूको संख्या निजामती सेवामा बढ्ने हुँदा सबैले महिलाहरूलाई शिक्षामा जोड दिन आग्रह गर्नु भयो । महिला हिंसा न्यूनीकरण गर्न संघ संस्था र स्थनीय तहहरूले महिला संजाल निर्माण गरेर अभियानहरू सञ्चालन गर्नु पर्ने र आफ्नो पनि सहयोग हुने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी खतिवडाले गर्नु भयो । कार्यक्रममा एसपी, सहायक प्रमुख जिल्ला अधिकारी, संघसंस्थाका अधिकारकर्मीहरु, संचारकर्मीहरु लगायत महिलाहरुको सहभागिता रहेको थियो ।
दुर्गा परियार