७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम सम्पन्न
धनुषा । २०८० मङ्सिर २६ गते
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार समूहले ०८० मङ्सिर २४ गते “सबैका लागि स्वतन्त्रता, समानता र न्याय” भन्ने नाराका साथ बटेश्वर गाउँपालिकाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियाका क्रममा बटेश्वर गाउँपालिकामा हुने गरेका आत्महत्या, छुवाछुत र दाइजो प्रथा जस्ता गलत क्रियाकलापहरूलाई न्यूनीकरण गर्नको लागि मानव अधिकार समूहले समुदाय र परिवार स्तरमा अभियानहरू सञ्चालन गर्नुपर्नेमा मानव अधिकार समूहका अध्यक्ष सुरज महतोले जोड दिनु भयो ।
मानव अधिकार समूह मधेस प्रदेशका सह सचिव हरिनारायण दासले जीवनकालसम्म पाउने सम्पूर्ण सेवा, सुविधा, स्वतंन्त्रता नै मानव अधिकार भएकाले समुदायमा हुने सम्पूर्ण हिंसा विरूद्ध समूहको पहल र अभियान जारी रहने बताउनु भयो । मानव अधिकारको विश्व व्यापि घोषणापत्र १० डिसेम्बर १९४८ मा जारी भएको हुँदा सोहि दिनको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तित्वहरूले विभिन्न कार्यक्रम र अभियानहरूको आयोजना गरी मानव अधिकार दिवस मनाउँदै आएको धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले बताउनु भयो । त्यस्तै, ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बटेश्वर गाउँपालिका–५, शान्तिपुर मुस्लिम टोल स्थित मदरसाको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । मदरसाका मौलबि मो. नजर मुद्दिनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिनमा मानव अधिकार समूहले मदरसामा आइ वृक्षारोपण गर्नु अत्यन्तै सन्देशमूलक र सद्भावपूर्ण कार्य रहेको बताउनु भयो ।
सन्तोष कुमार यादब