कठिन परिस्थितिमा इन्सेकले गरेको काम सम्झिरहन्छौं : कार्यवाहक मेयर

दैलेख । २०७९ मङ्सिर २० गते

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिराम खड्काले सशस्त्र युद्धको समयमा सरकारी पक्ष र त्यसबेलाको द्वन्द्वरत पक्षको दोहोरो चेपुवामा परेको बेला सर्वसाधारणको जिउज्यान सुरक्षामा गरेको काम भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रशंसा गर्नुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले इएलपी कार्यक्रम अन्तरगत गठित बाल अधिकार समूहका २६ जना बालबालिकाहरुका लागि मङ्सिर २० गतेदेखि सुरुभएको दुई दिने बाल अधिकार सचेतना तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । त्यसबेला ज्यान जोगाउन गाह्रो थियो, इन्सेकले पहल गरेर कैयौंको ज्यान जोगियो । ‘सशस्त्र द्वन्द्वको समयमा सेना प्रहरीले माओवादी भनेर दुख दिन्थ्यो, माओवादीले सुराकी भन्थे । पक्राउ वा अपहरण गरे इन्सेकलाई भनेर बाँचेका धेरै छौं’ कार्यवाहक मेयर खड्काले सुनाउनु भयो ।

  

द्वन्द्वको बेला ज्यान जोगाउने काम गरेको संस्था अहिले शान्तिको समयमा पनि समाजमा भेदभाव र असमानता छ । असमानता हटाउन अहिले बाल अधिकारका कुरा सिकाउन थालेकोले सहभागीले तालिमबाट सिकेको सीप व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । त्यसबखत इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले शान्ति प्रक्रियालाई सघाउन इएलपी कार्यक्रमले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रवद्र्धन गर्न इएलपी कार्यक्रम सञ्चाल गरिरहेको त्यस अन्तरगत बाल अधिकार सचेतना तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरस्तरीय मानव अधिकार समूहका संयोजक बलिराम जैसी, जनता मावि बस्तेकोटका प्रधानाध्यापक जनक कार्की, जयदेव मावि जम्बुकाँधका निमित्त प्रधानाध्यापक सुर्जकला बुढा लगायतले बाल अधिकार सचेतना तालिमको महत्व विषयमा बोल्नुभएको थियो । बाल अधिकार सचेतना तालिममा जनता मावि बस्तेकोट र जयदेव मावि जम्बुकाँधमा गठित बाल अधिकरा समूहका २६ जना बालबालिकाको सहभागिता छ । इएलपी कार्यक्रमले बाल अधिकारका सवाल सवलीकरण गर्न ती दुई विद्यालयमा बाल अधिकार समूह गठन गरेको छ ।

अमर सुनार