७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

सप्तरी । २०८० मङ्सिर २५ गते

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेकद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले ०८० मङ्सिर २४ गते महिला हिंसा विरूद्ध जनचेतनामूलक कार्यक्रम गर्दै ७५औं मानव अधिकार दिवस मनाएको छ । “भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाउँदै लैजाऔँ” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिका–४ सखुवा टोलस्थित दलित बस्तीमा मानव अधिकार र लैङ्गिक हिंसा बिरूद्ध समुदायमा जनचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकार समूहले समुदायमा रहेको महिला हिंसा, बाल विवाह, संविधानमा भएको अधिकार र न्यायबारे खुलेर बहस, चर्चा गरे । शम्भुनाथ नगरपालिका–४ का वडा अध्यक्ष बिजय कुमार साह, शम्भुनाथ नगरपालिका कार्यपालिका सदस्य शिवशंकर राम, मानव अधिकार समुहका अध्यक्ष पुलकित भगत सहित समूहको सम्पुर्ण सदस्यहरू नागरिक समाज, अगुवा, बुद्धिजिवीहरूको उपस्थिती रहेको थियो ।

बाल विवाहले छोराछोरीको जीवन समाप्त हुने भन्दै वक्ताहरूले छोरीलाई शिक्षित र सचेत बनाउन सके पनि धेरै किसिमका हिंसा कम हुने बताए । महिला हिंसा रोकथाम गर्न महिलालाई विशेष संरक्षण र अधिकारको अवसर दिनुपर्ने भन्दै वडा अध्यक्ष साहले आवश्यक वातावरण सृजना गर्न प्रतिबद्ध रहेको बताउनु भयो । राज्यबाट प्राप्त अधिकार बारे धेरै महिलाले थाहा पाउन नसकेको भन्नुहुँदै मानव अधिकार समूहकी उपाध्यक्ष देवीमाया भट्टराईले सरोकारवाला र बिभिन्न संघसस्थाको ध्यानाकर्षण गराउनु भयो । महिलाहरुले पनि आफ्नो अधिकारबारे बुझ्न समुदायमा खुलेर बहस, छलफल अन्तरकृया, प्रशिक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित अधिकार नै मानव अधिकार हो भन्नुभएका मानव अधिकार समुहका अध्यक्ष पुलकित भगतले समुदायमा हूने सबै खाले हिंसा बिरूद्ध हाम्रो अभियान जारी रहेको बताउनु भयो ।

    

इन्सेक सम्मिलित जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजनामा राजविराजमा अन्तरक्रिया गोष्ठि गरेर विश्व मानव अधिकार दिवस मनाइएको छ । सञ्जालका अध्यक्ष तथा एसपी गजु सिद्धि ब्रजाचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिडिओ किरण थापा, राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटाले मानव अधिकार आचरण, जवापदेहिता, पारदर्शिता, विधिको शासन बिना जनताले मानव अधिकारको उपभोग गर्न नसक्ने बताउनु भयो ।

प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० देखि यो दिवस बनाउन थालिएको हो । यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४ सय २३ (भी) रेज्योलुसन पास गरी देश र सम्बन्धित सङ्गठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो । मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ । 

मनोहर कुमार पोखरेल