रसुवा । २०८३ असोज २८ गते
भोटेकोशी बाढीका कारण पक्की पुल बगेपछि सडक सम्पर्कबाट हालसम्म पूर्ण रूपमा विच्छेद भएको आमाछोदिङ्मो गाउँपालिका–१ र २ मा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ ।
सडक यातायात ठप्प भएसँगै गाउँमा देखिन सक्ने खाद्यान्न सङ्कटलाई सहज बनाउन सदरमुकाम धुन्चेबाट हेलिकोप्टर प्रयोग गरी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको हो । अनुसन्धान तथा दिगो विकास केन्द्रको सहयोगमा प्राप्त राहत सामग्री धुन्चेबाट आमाछोदिङ्मो–१ र २ अन्तर्गतका हाकुबेँसी, पाङलिङ, सानो हाकु, ठूलो हाकु, नेसिङ र ग्रे लगायतका बस्तीहरूमा ढुवानी भइरहेको छ ।
स्थानीयवासीलाई भोकै पर्न नदिन र तत्कालको समस्या समाधानका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाइएको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो ।
धुन्चेबाट करिब २५ सय मिटरको हवाई दूरीमा रहेका यी गाउँहरूमा अहिले प्राथमिकताका आधारमा अत्यावश्यक खाद्यान्न पुर्याउने काम निरन्तर भइरहेको तामाङले बताउनु भयो । दशँैका लागि समेत पर्याप्त खाद्यान्न भण्डारण गर्ने कार्य भइरहेको आमाछोदिङ्मो गा.पा—१ का वडाअध्यक्ष साङ लामाले बताउनु भयो ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL