धादिङ । २०८३ असोज १ गते
त्रिशूली नदीको कटानले सडक नै बगाएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्ड ०८३ असोज १ गते बिहानदेखि नियमित सञ्चालनमा आउने भएको छ । पुरानो सडक पुनर्निर्माण सम्भव नभएपछि पहाडको भित्ता काटेर बनाइएको नयाँ ट्र्याकबाट यातायात सञ्चालन गर्न लागिएको हो। भदौ १४ गते सडकको ठूलो भाग त्रिशूलीमा खसेपछि काठमाडौंसँग धादिङ हुँदै देशका विभिन्न जिल्ला जोड्ने मुख्य सडक सम्पर्क प्रभावित भएको थियो। सडक खुलाउन नागढुंगा–मुग्लिन सडक आयोजनाले भदौ १८ गतेदेखि वैकल्पिक ट्र्याक निर्माणको काम थालेको थियो। आयोजनाका अनुसार करिब २ सय ७० मिटर क्षेत्रमा नयाँ ट्र्याक निर्माण, कटिङ, ग्राभेलिङ, सब–सर्फेस ड्रेनेज तथा नाला निर्माणको काम अघि बढाइएको हो। निर्माणका क्रममा दैनिक करिब १८ घण्टासम्म उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। कृष्णभीरको पहाड काट्दै जाँदा ठाउँठाउँबाट पानी निस्किएपछि निर्माण टोलीले पानीको व्यवस्थापन गर्दै सडक निर्माण अघि बढाएको थियो। सडकको भौगोलिक अवस्था अझै जोखिमपूर्ण रहेकाले तत्काल यातायात सञ्चालन गर्न मिल्ने संरचना तयार गरिए पनि दीर्घकालीन सुरक्षाका काम भने बाँकी रहेको आयोजनाले जनाएको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार त्रिशूलीको कटानबाट पुरानो सडकको आधार नै गएकाले सोही ठाउँमा सडक फर्काउन सम्भव थिएन। त्यसपछि माथिल्लो भागको भित्ता काटेर वैकल्पिक सडक निर्माण गरिएको हो।
सडक सञ्चालनमा आएपछि लामो समयदेखि वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने भएको छ। कृष्णभीर अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने–जाने हजारौँ सवारीसाधन प्रभावित भएका थिए। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सडक सञ्चालनमा आए पनि कृष्णभीरको जोखिम तत्काल समाप्त नभएको बताउनुभएको छ। पहिरो, पानीको बहाव र भित्ताको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यक परे तत्काल उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो। कृष्णभीरमा यसअघि पनि ठूलो पहिरो गएको थियो। करिब २६ वर्षपछि पुनः सडकको संरचना नै भासिएपछि यसपटक पुरानो बाटो मर्मत गर्नेभन्दा पहाडको अर्को भाग काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो। यससँगै भोटेकोशी बाढीबाट धादिङ खण्डका विभिन्न स्थानमा क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको मर्मत तथा नयाँ ट्र्याक निर्माणमार्फत यातायात सम्पर्क पुनः जोडिएको छ। राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड १८ दिनपछि सञ्चालनमा आउन लागेसँगै सडक सञ्जालमा देखिएको ठूलो अवरोध हट्ने भएको छ। यद्यपि, नयाँ ट्र्याकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप संरचना र जोखिम न्यूनीकरणका काम भने जारी रहनेछन्।




सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL