नुवाकोट । ०८३ असोज २८ गते

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बिदुर नगरपालिका–१ स्थित त्रिशूलीका नयाँ र पुराना दुवै पक्की पुल बगाएपछि प्रभावित क्षेत्रको जनजीवन र आवागमनमा परेको असर कम गर्ने आशा निर्माणाधीन झोलुङ्गे पुलले जगाएको छ। बाढीले नदी वारपार गर्ने प्रमुख संरचना नै बगाएपछि स्थानीयवासीको दैनिक आवागमन प्रभावित भएको थियो। त्यही समस्यालाई कम गर्ने उद्देश्यले निर्माण भइरहेको २ सय ६७ मिटर लामो झोलुङ्गे पुल अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पक्की पुल बगाएपछि नदी वारपार गर्न निर्भर रहेका स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ । दैनिक कामकाज, किनमेल, स्थानीय सेवा तथा विभिन्न वडामा हुने आवतजावतका लागि नदी पार गर्नुपर्ने बासिन्दाले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा थप समय र झन्झट बेहोर्नुपर्ने अवस्था सिर्जना भएको थियो। पुलको क्षतिले यातायात सम्पर्कमा मात्र नभई स्थानीयको दैनिक जीवन र आर्थिक गतिविधिमा समेत असर पारेको छ।

यस्तो अवस्थामा बिदुर नगरपालिका–१ स्थित बान्द्रे बुद्ध मन्दिरदेखि इन्टेकको डिल जोड्ने झोलुङ्गे पुल स्थानीयका लागि महत्वपूर्ण वैकल्पिक सम्पर्क संरचना बन्ने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बिदुर–१ बाट बिदुर–९ र १२ का बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ । यसले स्थानीयवासीलाई दैनिक कामकाजका लागि आवतजावत गर्न तथा विभिन्न वडाबीचको सम्पर्क कायम राख्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

२ सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग र  नुवाकोट निर्माण व्यवसायी संघले निर्माणको जिम्मेवारी लिएको छ। पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक ललितपुर र पूर्वाधार विकास कार्यालय नुवाकोटले प्राविधिक सहयोग गरेका छन् भने बिदुर नगरपालिकाले विशेष सहयोग गरेको छ ।

सर्वसाधारणलाई असोज २९ गतेदेखि पुलबाट आवतजावत गर्न मिल्ने गरि पुल निर्माण भैरहेको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित बनेको स्थानीय आवागमनलाई सहज बनाउन तथा बिदुर–१, ९ र १२ का बासिन्दाबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

केदार ढकाल