धादिङ । २०८३ भदौ १४ गते

अविरल वर्षाका कारण त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएको छ। सडक भासिएपछि ०८३ भाद्र १४ गतेदेखि उक्त खण्डमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बाढीले सडक भासिएर सवारी साधन आवागमन अत्यन्त जोखिमपूर्ण भएपछि सडक पूर्ण रूपमा बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) द्वारा जारी सूचनामा सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त स्थानतर्फ यात्रा नगर्न अनुरोध गरिएको छ।

अवरुद्ध सडक खुलाउनका लागि सम्बन्धित निकायबाट आवश्यक पहेल तथा व्यवस्थापनको कार्य भइरहेको प्रशासनले जनाएको छ। सडक पुनः सञ्चालनमा नआएसम्म धैर्य र सतर्कता अपनाउन तथा कुनै विपद्जन्य घटना घटेमा तत्काल नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सीताराम अधिकारी