धादिङ । २०८३ असोज २७ गते

भोटेकोशी–त्रिशूली बाढीले सडक भासिएपछि दुई दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा नयाँ ट्रयाक निर्माण गरी असोज २५ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।

त्रिशूली नदीको कटानका कारण सडकको करिब ३५ मिटर भाग भासिएपछि असोज २३ गते साँझदेखि यातायात अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाउन घर फर्किने हजारौँ यात्रु दुई रातसम्म जाममा फसेका थिए ।

नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार १ सय ५७ मिटर लामो र ६ मिटर चौडा नयाँ ट्रयाक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक खुलाउन ६ वटा एक्साभेटरसहित १० वटा निर्माण उपकरण परिचालन गरिएको थियो ।

राजमार्ग सञ्चालनमा आए पनि रोकिएका सवारीसाधनको चापले गलौँदी क्षेत्रमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडकमा ग्राभेल हाल्ने र माटो व्यवस्थापन गर्ने काम भने बाँकी रहेको आयोजनाले जनाएको छ ।