धादिङ । २०८३ कात्तिक १६ गते

भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको दुई महिनापछि स्थानीय सरकारले अस्थायी पन्टुन पुल राख्ने तयारी थालेका छन् । पुल नहुँदा धादिङका आठ स्थानीय तहसहित गोरखा र नुवाकोटका नागरिकको आवागमन प्रभावित भइरहेका बेला तत्काल यातायात सहज बनाउन बर्दियाको राजापुरमा रहेको पन्टुन पुल ल्याउन लागिएको हो ।

०८३ भदौ १० गते आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोलास्थित त्रिशूली नदीमाथिको पक्की पुल बगाएको थियो । पुल बगेसँगै धादिङका ६ ओटा पक्की पुल क्षतिग्रस्त भएका थिए ।

फुर्केखोला पुल धादिङ सदरमुकामसहित जिल्लाका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने प्रमुख सडक सम्पर्क थियो । पुल बगाएपछि धादिङका अतिरिक्त गोरखा र नुवाकोटका त्रिशूली नदी आसपासका बस्तीका नागरिकको आवागमनसमेत प्रभावित भएको छ ।

पुल सञ्चालनमा रहँदा दैनिक आवागमन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी, कृषि उपजको बजारीकरण र स्वास्थ्य सेवा प्राप्तिका लागि स्थानीयले यही मार्ग प्रयोग गर्दै आएका थिए । पुल बगाएपछि लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । बिरामीलाई अस्पताल पुर्‍याउन, एम्बुलेन्स सञ्चालन गर्न र दैनिक उपभोग्य सामग्री गाउँसम्म ढुवानी गर्न कठिनाइ भइरहेको छ ।

पृथ्वी राजमार्गसँगको सहज सम्पर्क टुटेपछि धादिङका उत्तरी तथा मध्य क्षेत्रका नागरिक बढी प्रभावित भएका छन् । बजारसम्म पुग्न लाग्ने समय र खर्च बढेको छ भने किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भोगिरहेका छन् । गोरखा र नुवाकोटका नदीपारिका बस्तीका नागरिकसमेत प्रभावित भएका छन् ।

संघीय सरकारको मातहतमा रहेको पुल बगाएपछि तत्काल पुनर्निर्माण वा वैकल्पिक व्यवस्था हुन नसक्दा स्थानीयले दुई महिनादेखि सास्ती खेप्दै आएका छन् । स्थायी पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न धादिङका १३ ओटै स्थानीय तहले संयुक्त पहल थालेका हुन् ।

धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको संयुक्त पहलमा बर्दियाको राजापुरमा रहेको पन्टुन पुल ल्याएर फुर्केखोलामा जडान गर्ने तयारी गरिएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ ओटै स्थानीय तहको तर्फबाट पन्टुन पुल उपलब्ध गराउन सिँचाइ विभागमा निवेदन दिइएको छ । विभागसँगको समन्वयमा प्राविधिक टोलीले फुर्केखोलामा स्थलगत निरीक्षण गरी पुल राख्न सकिने अवस्थाबारे अध्ययन गरेको छ । प्रारम्भिक अध्ययनबाट पुल राख्न सकिने देखिएको उहाँले बताउनुभयो ।

सिँचाइ विभागबाट स्वीकृति प्राप्त भएपछि बर्दियाको राजापुरमा रहेको पुलका सामग्री फुर्केखोलामा ल्याइनेछ । करिब ८० मिटर लामो पुल जडानका लागि आवश्यक सामग्री आइपुगेपछि पाँचदेखि सात दिनभित्र निर्माण सम्पन्न गर्न सकिने प्राविधिक पक्षले जानकारी दिएको छ ।

नेपाल सरकार सिँचाइ विभागअन्तर्गत पन्टुन पुलसम्बन्धी प्राविधिक टोलीका इन्जिनियर शशि धर्वालीका अनुसार पन्टुन पुल पानीमा तैरिने संरचनामा आधारित हुन्छ । नदीको तल पिलर गाडेर निर्माण गरिने परम्परागत पुलभन्दा फरक यसमा पानीमा तैरिने फलामका ठूला संरचनालाई एकआपसमा जोडेर आवागमन गर्न मिल्ने सतह बनाइन्छ ।

नेपालमा यसअघि पनि पन्टुन पुल प्रयोगमा आएको धर्वालीले बताउनुभयो । उहाँका अनुसार ०५४ सालमा बर्दियाको कोठियाघाटस्थित गेरुवा खोलामा यस्तो पुल निर्माण गरिएको थियो । पानीको सतह घट्दा पुल राख्ने र बहाव बढ्दा निकालेर सुरक्षित स्थानमा राख्ने व्यवस्था गरी उक्त पुल ०७२ सालसम्म सञ्चालन गरिएको थियो ।

फुर्केखोलामा पनि नदीको बहाव र पानीको सतहलाई ध्यानमा राखेर प्राविधिक व्यवस्थापनसहित पुल जडान गर्ने तयारी छ । विशेषगरी वर्षायाममा नदीको बहाव बढ्ने भएकाले पुलको नियमित निगरानी र आवश्यकताअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

पन्टुन पुल जडानको तयारीसँगै स्थायी पक्की पुल निर्माणको विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ । अस्थायी पुलले तत्काल आवागमन सहज बनाए पनि दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ । धादिङ, गोरखा र नुवाकोटका नागरिकको दैनिक जीवन, आर्थिक गतिविधि र अत्यावश्यक सेवासँग जोडिएको यस मार्गको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।

सिँचाइ विभागबाट स्वीकृति प्राप्त भई प्राविधिक प्रक्रिया पूरा भएपछि पन्टुन पुल जडान गर्ने स्थानीय सरकारहरूको तयारी छ । पुल सञ्चालनमा आएमा दुई महिनादेखि सडक सम्पर्क विच्छेदको समस्या भोगिरहेका धादिङका आठ स्थानीय तहसहित गोरखा र नुवाकोटका नागरिकलाई आवागमनमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

सिताराम अधिकारी